घोराही, १४ असार
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको समाज कल्याण केन्द्र नेपालले सहाराबिहीन,विपन्न तथा असहाय बालबालिकालाई शैक्षिक सामाग्रीको सहयोग गरेको छ । लामो समयदेखि सहाराबिहीन,विपन्न तथा असहाय बालबालिकालाई बिद्यालय पठाउने काम गर्दै आएको समाज कल्याण केन्द्र नेपालले बर्षेनी बिभिन्न बिद्यालयमा पुगि अन्य बिद्यालयहरुलाई पनि शैक्षिक सामाग्री बितरण गर्दे आएको संस्थाका अध्यक्ष निर्मला पोख्रेल गौतमले जानकारी दिनुभयो । अध्यक्ष गौतमका अनुसार संस्थाले सञ्चालन गरेको खुत्रुके कार्यक्रमबाट संकलन भएको रकमले सहाराबिहीन,विपन्न तथा असहाय बालबालिकाहरुको शिक्षामा खर्च गरिन्छ भने केही रकम बिभिन्न बिद्यालयमा अध्ययनर जेहेन्दार,दलित तथा सहाराबिहीन परिवारका बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिन्छ ।
यसबर्ष घोराही १६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो |
समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १६ नम्बर वडाका वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा गत सोमबार उक्त बिद्यालयमा कार्यक्रमको आयोजना गरि सो बिद्यालयको कक्षा ३ मा अध्ययनरत झरना मल्ल र कक्षा ४ मा अध्ययरत समीर नेपालीलाई कापी कलम, झोला, बिद्यालय पोशाक प्रदान गरिएको छ ।
ती दुवैजना बालबालिकालाई कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने गरी समाज कल्याण केन्द्रले अभिभावकत्व लिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
उक्त संस्थाले हालसम्म २० जना असहाय, विपन्न, जेहेन्दार तथा अभिभावक विहीन बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गराउनेगरी अभिभावकत्व लिएको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष ताराबहादुर डिसीले असहाय र अनाथ बालबालिकाको निशुल्क शिक्षाका लागि खुत्रुके अभियानका माध्यमबाट समाज कल्याण केन्द्रले गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभयो ।
आधारभूत विद्यालय सानी अम्बापुरका प्रधानाध्यापक गुरुप्रसाद डिसीले समाज कल्याण केन्द्रले विद्यार्थीहरुको भविष्य बनाउने संकल्पका साथ अभिभावकत्व लिएर १२ कक्षासम्म निशुल्क पढाउने वातावरण बनाई दिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
समाज कल्याण केन्द्र नेपालका कोषाध्यक्ष सुमित्रा गौतमकको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य पूजा योगीले गर्नुभएको थियो ।

