विद्यालय शिक्षा विधेयक अन्तिम समयमा विवादका कारण समितिबाट सोमबार पास हुन सकेन। विधेयकमा शिक्षकको पदपूर्ति र मूल्यांकन नम्बर विषयमा विवाद थियो। सहमतिका लागि छलफल जारी रहे पनि अन्ततः बैठक स्थगित भएको छ ।
स्वार्थ समूहको अति सक्रियता र सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका कारण अन्तिम समयमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास हुन सकेन ।
सोमबार विधेयक पारित गर्नेगरी बिहान साढे ८ बजे नै समिति बैठक बोलाइएको थियो ।
समिति सभापति अम्मरबहादुर थापाका अनुसार, समिति बैठक बस्नुअघि समन्वय परामर्श उपसमितिले पारित गर्ने सहमति पनि भइसकेको थियो ।
तर, विधेयकमा मुख्यत दुई विषयमा विवाद कायमै थियो । पहिलो, अस्थायी प्रकृतिको शिक्षक र दोस्रो, शिक्षकको कार्यसम्पादन मूल्यांकन नम्बर ।
जसमा शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सहमति भइसकेको थियो । तर बैठक सुरु हुनै लाग्दा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग छलफल गर्न भन्दै समय मागे । घिमिरेको आग्रह स्वीकार गर्दै शिक्षामन्त्री रघुजी पन्तसहित शिक्षक महासंघका प्रतिनिधिसँग छलफल भयो ।
जसकारण समिति बैठक दिउँसो २ बजेसम्मका लागि सारियो । १२ बजे शिक्षा मन्त्रालयमा शिक्षक महासंघको टोलीसँग वार्ता भयो । मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायत बैठकमा हुनुहुन्थ्यो ।
त्यसैगरी कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालका मुख्य सचेतक महेश बर्तौला पनि बैठकमा सहभागी हुनुभएको थियो । मन्त्रालय स्रोतका अनुसार, मन्त्री पन्तले ६०।४० मा सहमति जनाउन शिक्षक नेतालाई आग्रह गर्नुभएको थियो । तर, शिक्षकका टोली सहमत भएनन् । ‘७५।२५ हुनुपर्ने र कास (कार्यसम्पादन) मूल्यांकनको अंक ९० बाट घटाउनु पर्ने प्रस्ताव महासंघको थियो,’ वार्तामा सहभागी एक सदस्यले भने, ‘वार्ताबाट शिक्षकको टोली उठेर हिँड्ेको जनाईएको छ ।’
वार्ताबाट शिक्षकको टोली बाहिरिएपछि मन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सानेपास्थित पार्टी कार्यालय पुगेका थिए । सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग मन्त्री पन्तले शिक्षकले राखेको अडान जानकारी गराएका थिए ।
सानेपा स्रोतका अनुसार, मन्त्री पन्तले ६०।४० कायम गरेर विधेयक पारित गर्न भन्नुभएको थियो । तर सभापति देउवाले केही दिन बैठक रोक्न आग्रह गर्नुभयो ।
‘सभापतिज्यूले एक दुई दिन पर्खिनुहोस्, अलिकति भाषा मिलाउनु पर्छ भन्नुभएको हो,’ कांग्रेस स्रोतले बताएको छ ।,
शिक्षक महासंघले आन्दोलनको धम्की दिएकाले समिति बैठक रोकेर सहमति खोज्न सभापति देउवाले सुझाएको कांग्रेसका अर्का एक केन्द्रीय सदस्य बताउँछन् । तर, मन्त्री पन्तले शिक्षकले आन्दोलन नगर्नेसमेत सभापति देउवलाई भन्नुभएको थियो ।
विद्यालय शिक्षा विधेयक विवादका कारण समितिबाट पास हुन सकेन

