सुशील बस्नेत
लमही,दाङ
२८ असोज

लोपोन्मुख,सिमान्कृत,अल्पसंख्यक तथा पिछडिएका समुदायको पाश्वचित्र निमार्णको प्रारम्भीक प्रतिबेदन माथि बुधबार लमहीमा छलफल भएको छ ।
कुमाल,कुसुण्डा,चिडीमार,सोनाह,नटुवा,कोरी,पथ्थरकट्टा÷कुशवनिया र खटिक गरि ८ वटा समुदायको पाश्वचित्र (प्रोफाईल)को मस्यौदामाथि छलफल भएको हो । सामाजिक बिकास मन्त्रालय,लुम्बिनी प्रदेशको आयोजना,बेस संस्थाको ब्यबस्थापन र संवाद समुह सचिवालय,लुम्बिनी प्रदेशको सहजिकरणमा लुम्बिनी प्रदेशमा बसोबास गर्ने बिभिन्न लोपोन्मुख,सिमान्कृत,अल्पसंख्यक तथा पिछडिएका समुदाय मध्ये ती ८ वटा समुदायको प्रोफाईल निर्माण गर्न लागिएको सामाजिक बिकास मन्त्री रामजी प्रसाद घिमीरेले जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जातजाति मध्ये ११५ वटा लोपोन्मुख समुदायको बसोबास रहेको तथ्याकले देखाएको खोज तथा अनुसन्धानकर्ता जेवी बिश्वकर्माले जानकारी दिनुभयो । बिश्वकर्माका अनुसार १२० वटा जनजातिको बसोबास भएको लुम्बिनी प्रदेशमा ८९ वटा लोपोन्मुख समुदायको बसोबास रहेको छ ।
यी समुदायको प्रोफाईल निर्माणले जनसङ्ख्या, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक अवस्थाको यथार्थ विवरण उपलब्ध गराउनुका साथै आवश्यकता र समस्याको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पाश्र्वचित्रका आधारमा प्रदेश तथा स्थानीय सरकारले लक्षित नीति, योजना र कार्यक्रम निर्माण गर्न, बजेट विनियोजन गर्न तथा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतका सेवासुविधामा समुदायको पहुँच विस्तार गर्न सक्नेछन् । साथै, लोपोन्मुख समुदायका मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै विकास प्रक्रियामा उनीहरूको सहभागिता र प्रतिनिधित्व बढाउन पनि पाश्र्वचित्र उपयोगी हुने विश्वास गरिएको छ ।
प्रस्तुत बिबरण अनुसार कुमाल समुदाय देशभर १ लाख २९ हजार ७ सय ३ जना रहेको र लुम्बिनी प्रदेशमा ४९ हजार ९ सय ७१ रहेको अर्थात ३८.७३ प्रतिसत रहेको छ । माटोको भाडावर्तन मुख्य पेशा रहेको कुमाल समुदायको आफ्नै भाषा र संस्कृति रहेको उल्लेख गरिएको छ । समुदायमा मटवा,मुखिया चुन्ने परम्परा समेत रहेको प्रोफाईलको मस्यौदामा उल्लेख गरिएको छ ।
बाँके र बर्दियामा बसोबास रहेको चिडीमार समुदाय नेपालमा कुल १ हजार ६ सय १५ जना मध्ये लुम्बिनी प्रदेशमा १ हजार ९ सय ९० जना रहेका छन् । जुन बाँके जिल्लामा मात्रै १ हजार ३ सय १४ जनाको बसोबास रहेको छ । बाजको सहायताले चरा छोप्ने पेशा रहेको चिडिमार लोपोन्मुख समुदाय हो ।
खोला नदीको बालुवाबाट सुन चाल्ने मुख्य पेशा रहेको सोनाह समुदाय सुचिकृत हुन नसकेको समुदाय हो । सुचिकृतका लागि सर्बोच्च अदालतमा कानूनी उपचार बाट सुचिकृत गर्न सरकारलाई गरेको आदेश समेत कार्यान्वयन हुन नसकेको समुदाय भित्र पर्दछ । यो समुदायको वास्तबिक तथ्यांक नेपाल सरकार सँग छैन । यो समुदायका अनुसार बर्दिया,कैलालीर कञ्चनपुरमा समेत गरि १ हजार २ सय जनाको जनसंख्या रहेको दावि गरीएको छ । यो समुदायको आफ्नै मौलिक संस्कृति रहेको अनुसन्धानकर्ता बिश्वकर्माले प्रस्तुत गरेको मस्यौदामा उल्लेख छ ।
ढुङाबाट लोरो,सिलौटो,जातो लगायतका बिभिन्न सामाग्री बनाउने पथ्थरकट्टा समुदायको नेपालका १३ जिल्लामा गरि कुल ३ हजार ४ सय ४३ जना रहेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा मात्र ८७ प्रतिसतको बसोबास रहेको छ । यो समुदायको सीपलाई आधुनिकरण गर्दै बिभिन्न प्रकारका मुर्ति बनाउन सके आयआर्जनमा बृद्धि हुने बिश्वास गरिएको छ ।
२ हजार ८ सय ९६ कुल जनसंख्या रहेको नटुवा समुदाय लुम्बिनी प्रदेशमा ८ सय ९१ जनाको बसोबास रहेको छ । सर्प पकडने,सर्पको बिष निकाल्ने र फिरन्ते जिवन बिताउने नटुवा समुदायले रुखमा रहेको मौरी काडने परम्परागत पेशा गर्दै आएको छ । भूमिहिन समुदायका नटुवाहरु खोला र सडक छेउमा सामुहिक बसोबास गर्दै आएको छ । पुर्वी नेपालमा मुस्लीम समुदाय रहेको नटुवा समुदाय लुम्बिनी लगायतका प्रदेशका बिभिन्न जिल्लामा बसोबास गर्नेहरुले भने हिन्दुधर्म मान्ने गरेको देखिएको छ ।
बनको राजा कुशुण्डा समुदाय नेपालका बिभिन्न ८ जिल्लामा गरि कुल १ सय ५३ जनाको जनसंख्या रहेको छ । अत्यन्तै लोपोन्मुख समुदायमा रहेको कुशुण्डा समुदायको मौलिक भाषा भिन्न रहेको छ । लोप हुदै गएको यो समुदायको भाषा बोल्न सक्ने १ जना मात्र रहेको दावी गरिएको छ । एकिकृत बस्तीको रुपमा ब्यबस्थापन गर्न सके यो समुदायको संस्कृतिको संरक्षण हुने बिश्वास गरिएको छ ।
कोरा कपडाका लागि धागो र कपडा बनाउने परम्परागत पेशा रहेको कोरी समुदायको कुल जनसंख्या २० हजार ६ सय ७० जना मध्ये लुम्बिनी प्रदेशमा मात्र १८ हजार ६ सय २३ जना रहेको छ । भने अन्तरजातिय बिबाहलाई स्वीकार नै नगर्ने समुदाय मध्येको खटीक समुदायको कुल जनसख्या ९ हजार ९ सय ५२ जना तराईमा बसोबास गर्दै आएका छन् । जसमध्ये लुम्बिनी प्रदेशको कपिलबस्तु,बाँके,सुस्तापश्चिम लगायतका जिल्लामा मात्र ९ हजार १ सय बढि रहेको प्रस्तुत पाश्र्वचित्रको मस्यौदामा उल्लेख गरिएको छ ।
मस्यौदा प्रस्तुतिकरण माथि कुमाल समुदायका प्रेम कुमाल, सोनाह समुदायका शान्ति सोनाह र ईन्द्र सोनाह,कुशुण्डा समुदायका धनबहादुर कुशुण्डा र उर्मीला कुशुण्डा,चिडीमार समुदायका सुनिता चिडीमार,नटुवा समुदायका प्रहल्दा नटुवा र पंडीत नटुवा,,खटिक समुदायका हरिओम खटिक,बादी समुदायका निर्मल बादी नेपाली लगायतले बिभिन्न सुझाब तथा धारणा राख्नुभएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सभापति यामबहादुर नेपाली सार्की र लुम्बिनी प्रदेश सभासदस्य लोका बिश्वकर्माले दलित समुदाय र थारु समुदाय सँग सम्बन्धित कानून निर्माणको क्रममा प्राप्त अनुभव सुनाउनुभएको थियो । उहाँहरुले यो पाश्र्वचित्र(प्रोफाईल ) निर्माणका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमको सहजिकरण संवाद समुह लुम्बिनी प्रदेशका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुृभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *