श्रावण १६
सर्वपक्षीय संवाद, सुरक्षा उपस्थितिको वृद्धि र स्थानीय समुदायको सक्रियतापछि तराई–मधेशमा देखिएको तनाव क्रमशः साम्य हुँदै गएको छ।
सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय तहले संयमता, संवाद र सहिष्णुतामार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्।
विभिन्न जिल्लामा शान्ति र सद्भाव कायम गर्न र्याली, बैठक तथा प्रतीकात्मक अभियान सञ्चालन भइरहेका छन् भने अफवाह र हिंसाबाट जोगिन सबै पक्षले अपिल गरेका छन्।
सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ ।
प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ । ‘शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएएको प्रहरीले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिरहामा पीडित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहोल शान्त बन्दै गएको उहाले बताउनुभयो । गृहमन्त्री गुरुङले बिहीबार राति नै पीडित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो । तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री वालेन्द्र शाहले पनि शुक्रबार तराई–मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ ।
तनावग्रस्त जिल्लामा पनि शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन् । प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सर्वसाधारणले संवाद, संयम र सहिष्णुतामार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन् । केही दिन देखिको द्धन्दमा परि ३ जनाको ज्यान गएको छ भने कर्याै घाईते भएका छन् । समुदायमा आगजनी र लुटपाट समेत भएका छन् ।

