ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

१८ वैशाख, काठमाडौं ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै शुक्रबारबाट शिक्षकहरू विद्यालय फर्किदै छन् ।२९ दिनदेखि जारी शिक्षकको काठमाडौंकेन्द्रित आन्दोलन बुधबार टुंगिएको छ । आज बिहीबार मे दिवसका अवसरमा सार्वजनिक बिदाको दिन परेकाले भोली शुक्रबारदेखि बिद्यालय जाने शिक्षक महासंघले जनाएको छ ।
विद्यालय शिक्षा ऐन नलिई नफर्किने बाचा गरेका शिक्षकहरूको हातमा तत्कालै ऐन त परेन, तर हात खाली पनि फर्किनु परेन । विद्यालय शिक्षा ऐन तत्कालै हात नपरे पनि शिक्षकहरू सेवा–सुविधा हातहाती लिएर फर्किने भएका छन् ।
सरकारसँग भएको नौबुँदे सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको हो ।
शिक्षकहरूले उठाउँदै आएका मुख्य माग विद्यालय शिक्षा ऐन समावेश छैन । आफ्नो मुख्य मागमा भने शिक्षकहरूले उधारोमा सहमति गरेका छन् ।
यद्यपि, शिक्षकहरूले प्रतिनिधिसभाको शिक्षा समितिका सभापति तथा सत्तारुढ दल एमाले र कांग्रेसका प्रमुख सचेतकबाट आगामी १५ असारभित्र ऐन जारी गरिसक्ने प्रतिबद्धता लिखितै लिएका छन् ।
‘५३ वर्ष पुरानो ऐन राज्यले टालटुल गरेर चलाएको थियो । अब नयाँ ऐन आउने सुनिश्चतता भएको छ । नयाँ विद्यालय श्क्षिा ऐन २०८२ जारी गर्न आगामी १५ असारसम्मको सयम तोकिएको छ । ऐन ल्याउने प्रक्रियामा समय लाग्ने भएर हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।
संविधान जारी भएको ९ वर्ष हुँदा पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । यसपटक १ महिना चलेको आन्दोलनको मुख्य उपलब्धि ऐन जारी हुने सुनिश्चतता भएको महासंघको निष्कर्ष छ । ‘संविधान बनेको यतिका समय हुँदा पनि ऐन बनेको थिएन । अब ऐन आउने भयो । यो ठूलो उपलब्धि हो,’ पराजुलीले भन्नुभयो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि एक महिने आन्दोलनको मुख्य उद्देश्य ऐन नै भएको बताउँनुभयो । उहा पनि यसपटकको आन्दोलनलाई उपलब्धि ठान्नुहुन्छ । ‘काठमाडौंकेन्द्रित आन्दोलनको एक मात्र लक्ष्य शिक्षा ऐन जारी गर्ने उद्देश्य थियो । त्यसैले यो नै ठूलो उपलब्धि हो,’ अध्यक्ष सुवेदीले बताउनुभयो ।

सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा

शिक्षक–कर्मचारीलाई उपचारमा सहुलियत उपलब्ध गराउने,अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी) करार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता को बिरामी विदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने , प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने सहमति भएको छ । आगामी आर्थिक वर्ष २०८२र०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामतीसरह ग्रेड संख्या र रकम कायम गर्ने निर्णय भएको छ ।
स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायीरकरार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गरिएको छ । यस्तै, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने भनिएको छ । सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने निर्णय सरकारले गरेको छ ।
यसैबिच ‘आम शैक्षिक हड्ताल स्थगित भएको छ । शिक्षक महासंघले सबै शिक्षकहरूलाई नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ । परीक्षा र भर्ना अभियानमा संलग्न हुन शिक्षक कर्मचारीलाई निर्देशन दिएको छ । देशभरका शिक्षक २० चैतदेखि काठमाडौंमा थिए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *