श्रावण १७

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा २७० किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा १७६ किलोमिटर र आर्थिक वर्ष २०८२/८३ मा ९४ किलोमिटर सडक कालोपत्रे गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यस अवधिमा १६५ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, २९२ किलोमिटर सडक विस्तार तथा २९४ किलोमिटर सडक ग्राभेल गरिएको छ । पूर्वाधार विस्तारसँगै पुल निर्माणमा समेत प्रगति भएको छ । दुई आर्थिक वर्षमा ७० वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । जसमा आर्थिक वर्ष २०८१/८२ मा ४० वटा र २०८२/८३ मा ३० वटा सडक पुल निर्माण भएका हुन् । त्यस्तै २८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
मन्त्रालयका अनुसार यस अवधिमा १ हजार ३४८ वटा कल्भर्ट तथा कजवे निर्माण भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ८४४ वटा र २०८२/८३ मा ५०४ वटा कल्भर्ट तथा कजवे निर्माण गरिएको हो । यस्तै ढलान गरी ७४ किलोमिटर पक्की सडक निर्माण गरिएको छ । लुम्बिनी प्रदेश स्थापनादेखि हालसम्म भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कुल ७८५ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण भएको छ । यस अवधिमा २ हजार ३७ किलोमिटर सडक विस्तार, १ हजार ८२६ किलोमिटर सडक ग्राभेल र १ हजार ४०० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेश स्थापनादेखि हालसम्म ६ हजार ३७६ वटा कल्भर्ट तथा कजवे निर्माण भएका छन् भने १४७ किलोमिटर ढलान सडक, २१० वटा सडक पुल र ७८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले प्रदेशका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने, आवतजावत सहज बनाउने र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सडक तथा पुल निर्माणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *