वैशाख २८ गते
राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा नतिजा २९ दिनमा सार्वजनिक गरेको छ र ६५।९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
यो वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ विद्यार्थीले जीपीए ३।६० देखि ४।०० ल्याएका छन् र नतिजा गत वर्षभन्दा ४।१७ प्रतिशतले बढेको छ। बोर्डले असार १ देखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने र १ जेठदेखि ७ गतेसम्म पुनर्योगको समय तोकेको छ।
२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो ।
२०८१ मा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६) देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २(८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २।०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।
प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।
सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो । २९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो ।’
विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो ।
बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ ।
त्यसैले यसवर्ष परीक्षा केन्द्रमा नै परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण हुने आशंकासहित प्रश्नहरू पनि उठेको थियो । तर शिक्षकहरूले आफ्नो मर्यादामा रहेर नै उत्तरपुस्तिका परीक्षण गरेको नियन्त्रक अधिकारीले बताए ।

