सुशील बस्नेत
तुलसीपुर,५ जेठ
किसानहरुले उत्पादन गरेको बस्तुको समर्थन मूल्य पाउनुपर्ने कृषि बिज्ञले बताएका छन् । तरकारी तथा फलफुल बजार ब्यबस्थापन समिति तुलसीपुरको चौथो साधारण सभा तथा तेस्रो अधिबेसन उद्घाटन कार्यक्रममा कृषि शाखा प्रमुख धनराज गौतमले कानुन नबन्दा किसानले उत्पादन गरेको समर्थन मुल्य पाउन नसकेको बताउनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय बजार सञ्चालन निर्देशिकाका आधार तुलसीपुरमा तरकारी तथा फलफुल बजार सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो । अव कानुन बनाउनु पर्छ, जसले गर्दा किसानले उत्पादन गरेको बस्तुको उचित मुल्य पाउने छन् भने बजारको ब्यबस्थाको कारण गलेर कुहिएर खेर नजाने बताउनुभयो । कानुन र पुर्बाधार बिनाको कृषि बजारले आम किसान,उपभोक्ता र ब्यापारीको समस्या समाधान हुन नसक्ने गौतमले बताउनुभयो ।
बजार ब्यबस्थापन समितिका अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिबेसन उद्घाटन सत्रमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, पूर्व मेयर घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्व वडा अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेश राजभण्डारी,मानव अधिकार तथा शान्ति समाजमा निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत लगायतले उपभोक्ताको अधिकार स्वच्छ ,सफा र गुणस्तरीय बस्तुको उपभोगका बारेमा चर्चा गर्नुभएको थियो ।
त्यस अवसरमा तरकारी बजारका संस्थापक अध्यक्ष दामोदर गुप्ता,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ वडा कार्यालय,कृषि शाखा,झुपलाल खड्का, नवराज रावत,डिल्ली बुढाथोकी लगायतलाई तरकारी बजारमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो ।
सो अवसरमा सचिव सुरेश गुप्ताले सांगठनिक र कोषाध्यक्ष हेमलाल भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन झुपलाल खड्काले गर्नुभएको थियो ।
कार्य समिति गठन
शनिबार सम्पन्न अधिबेसनले पून माधव घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । वर्तमान कार्यसमितिलाई अधिबेसनले अनोमदन गरेको सचिव सुरेश गुप्ताले जानकारी दिनुभयो ।
जसको सचिवमा सुरेश गुप्ता र कोषाध्यक्षमा हेमलाल भण्डारी,सदस्यमा उमा वली,नवराज गौतम र दोलख खत्री हुनुहुन्छ । ९ सदस्यीय कार्यसमितिमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वरबाट एक जना प्रतिनिधि, तुलसीपुर कृषि ज्ञान केन्द्रबाट एक जना र तुलसीपुर उद्योग बाणिज्य संघबाट एक जना प्रतिनिधि सदस्यमा चयन गर्ने ब्यबस्था बजार सञ्चालन निर्देशिकामा ब्यबस्था गरेको छ ।
तरकारी तथा फलफुल बजार २०७७ सालदेखि सञ्चालनमा आएको भने ३२ वटा स्टलमा तरकारी तथा फलफलु बिक्रि हुने गरेको छ ।