पौष १२
दाङ सीमाबर्ती क्षेत्रमा नागरिकले मात्र होईन सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको दैनिकी समेत कुष्टपुर्ण छ । सीमा नाकाका प्रहरी कार्यालय खरको छानो,माटो र सिट्ठाले बेरेको गाह्रो छन् । पुसको कट्याङगीदो चिसो छल्न पनि धौ छ । त्यसमा पनि पानी पर्दा छानो चुहिन्छ र छानो माथि कालो प्लास्टिक बेरिएको छ । यस्तो दयनीय अवस्थाबाट गुज्रिए पनि सीमा सुरक्षामा नेपाल प्रहरी खटिएको छ ।
राजपुर गाउँपालिका–६ डगमारा अस्थायी प्रहरी चौकी यस्तै दयनीय अवस्थाबाट गुज्रिरहेको छ । तीन वर्षअघि डगमारा पुगेको जिल्लाका सुरक्षा अधिकारीहरुसँ‘ग प्रहरी चौकीको अवस्था बारे जानकारी गराएको थियो । बेलाबखत त्यहाको अबस्था बुझ्न पुग्ने सरकारी अधिकारीलाई समस्या दर्साउन थालेको धेरै भइसकेको छ । नेपाल प्रहरीका छवटा प्रहरी चौकीहरु भौतिकरुपमा अति कमजोर छन् । फुसको छानो भएको घर भए पनि आफ्नो होइन । त्यसको पनि घर भाडा बुझाउनुपर्छ । भारत सरकारले सीमा सुरक्षाका लागि बनाएका चौकीहरु सुविधासम्पन्न छन् । तर नेपाल तर्फका चौकीहरु भने कमजोर पूर्वाधारकै कारण दयनीय अवस्थाबाट गुज्रिनु परेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीका अनुसार स्थानीय सरकारले केही भवनहरुको सुधार गर्ने आश्वासन पाएका छौं ।
सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका चौकीहरुलाई पूर्वाधारयुक्त बनाउँदै जाँदा नेपाल प्रहरीका सीमा चौकीहरु भने कच्ची घर र फुसको छानोमा चलेका छन् । दाङ क्षेत्रमा नेपालको ८३ किलोमिटरमा फैलिएको नाका क्षेत्रमा छवटा प्रहरी युनिट छन् ।
जसमध्ये एउटा इलाका प्रहरी कार्यालय, एउटा इलाका सीमा प्रहरी चौकी, दुईवटा अस्थायी प्रहरी चौकी र दुईवटा प्रहरी चौकी छन् । स्थापना भएदेखि हालसम्म पक्की संरचना बनेका छैनन् । हातहतियार राख्नेदेखि कार्यालयको दैनिक प्रशासनिक काम कच्ची घरबाट गरिएको छ ।
राजपुर गाउ‘पालिका–१ सिरिया नाका र वडा नम्बर ६ को डगमारा नाकामा अस्थायी प्रहरी चौकी छन् । वडा नम्बर ६ कै खांग्रामा प्रहरी चौकी र वडा नम्बर ७ को भैंसाहीमा इलाका प्रहरी कार्यालय छ ।
गढवा गाउँपालिका–८ को कोइलावासमा इलाका प्रहरी चौकी र प्रहरी चौकी मुसी नाका छ । सशस्त्र द्वन्द्वको समयमा कोइलावासमा रहेको प्रहरी कार्यालयमा आगजानी भएपछि त्यहाँबाट चौकी विस्थापित भएको थियो । पछि कोइलावासमा प्रहरी चौकी राख्दा खानेपानी कार्यालयको भवनमा राखियो । अहिले पनि त्यहींबाट प्रहरीले कार्यालय सञ्चालन गर्दैै आएको छ । केही प्रहरी चौकीका भवन बनाउन बजेट विनियोजन भए पनि त्यसलाई कार्यान्वयन गर्न बाँकी छ ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दाङ जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा पर्ने सीमा प्रहरी चौकीको अवलोकन गर्नुभएको छ । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव, वडा नम्बर ७ का अध्यक्ष पुष्कर वली, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीसहितको टोलीले डगमारा, खांग्रा, भैंसाहीलगायतका स्थानमा रहेका सीमा प्रहरी चौकीको अवलोकन गरेको हो । ‘
तर दाङ जिल्लाभित्र पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरेर १४ वटा सुरक्षा पोष्ट छन् ।
भारत सरकारले यो सीमा क्षेत्रमा २० वटा सीमा सुरक्षा बल स्थापना गरेको छ भने नेपालको तर्फबाट पनि त्यत्तिकै मात्रामा सशस्त्र प्रहरीका १४ र नेपाल प्रहरीका छ गरी २० वटा सीमा प्रहरी चौकीहरु स्थापना गरिएका छन् । सशस्त्रका १० वटा प्रहरी चौकीका आफ्नै संरचना छन् ।
गढवा गाउँपालिका–२ भौरीसाल, राजपुर गाउँपालिका–१ गुरुङ नाका, पटौली नाका, सुख्खा नाका, राजपुर गाउँपालिका–६ भित्र पर्ने कल्याणपुर, खांग्रा, छेग्रिया, वडा नं। ७ को सुनपथरी, भैंसाही नाकामा सीमा प्रहरी चौकी छन् । गढवा गाउँपालिका–८ कोइलावासमा प्रस्तावित सीमा सुरक्षा गुल्म छ । तीनवटा अस्थायी सीमा प्रहरी चौकी समेत स्थापना भइसकेका छन् ।
गढवा गाउँपालिका–८ को खबरी, राजपुर गाउँपालिका–१ को सुकौली र वडा नं। ७ को भौवा नाकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
