१५ असार
असार १५ अर्थात् राष्ट्रिय धान दिवस आज मनाइँदै छ । असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
वर्षभरका लागि मुठि रोपी मुरी फलाउने भनाईका साथ धान रोप्न ब्यस्त छन् । कृषि मन्त्रालयका अनुसार असार १५ सम्म जम्माजम्मी १० प्रतिशत खेति भएको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

