१४ असार
नेपालको लागि वार्षिक औसतमा ११ लाख मेट्रिक टन मलको आवश्यता हुन्छ तर नेपालमा तीनदेखि पाँच लाख मेट्रिक टनसम्म मात्र मलको आपूर्ति हुँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङ्जा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ ।
अहिले कार्यालयमै मलको अभाव रहेको छ भने केही ट्रक वीरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको त्यहाँका निमित्त कार्यालय प्रमुख सुमन पन्थीको भनाइ छ ।
कृषि सामग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन यूरिया र ३९ हजार नौ सय २३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हालसम्म ४७ हजार आठ सय सात दशमलव सात मेट्रिक टन युरिया र ३१ हजार एक सय ९९ दशमलव चार मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा १० गतेसम्म लुम्बिनी प्रदेशको लागि एक हजार नौ सय ८३ दशमलव दुई मेट्रिक टन युरिया र दुई हजार दुई सय ४३ दशमलव तीन मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो ।
यता कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले हालसम्म ३२ हजार आठ सय २१ मेटिक टन मल आवश्यक रहेकोमा १५ हजार छ सय ६७ मेट्रिक टन मात्रै सहकारीमा पुगेको जानकारी दिनुभयो । उहाँले आवश्यकताको ४७ दशमलव ६ प्रतिशत मात्रै वितरण भएको जानकारी दिनुभयो ।
केही आउनेक्रममा रहेको बताउनुभयो । नेपालभरमा आवश्यक मलमध्ये मधेशपछि लुम्बिनीमा धेरै खपत भइरहेको कार्यक्रममा जानकारी दिइयो । लुम्बिनीमा देशभरको २० दशमलव ६ प्रतिशत खपत भइरहेको छ । जसमा युरिया २० दशमलव ६३ अर्थात ६४ हजार नौ सय ८४ दशमलव ५ मेट्रिक टन, डिएपी २१ दशमलव ११ अर्थात् ४२ हजार सात सय ४७ मेट्रिक टन र पोटास २० दशमलव ७९ अर्थात् चार हजार छ सय ७७ दशमलव ७५ मेट्रिक टन खपत भइरहेको छ ।
राष्ट्रिय धान दिवस मनाउने तयारीमा जम्मा १० प्रतिशत धानरोपाई
लुम्बिनी प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल छ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तले जानकारी दिनुभयो ।
सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ छ हजार पाँच सय २५ हेक्टरमध्ये पाँच हजार तीन सय १८ हेक्टरमा धान रोपाइँ सकिएको छ । यस्तै, रोल्पामा चार हजार पाँच सय ४७ हेक्टरमध्ये एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । २० हजार चार सय हेक्टरमध्ये आठ हजार एक सय ९२ हेक्टरमा धान रोपाइँ सकिएको छ ।
रुकुमपूर्वमा तीन सय ५४ हेक्टरमध्ये एक सय छ, पाल्पामा आठ हजार दुई सय १० मध्ये चार सय ११ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, रुपन्देहीमा ६० हजार पाँच सय ६७ मध्ये छ हजार ५८,
प्रदेशमा सबै भन्दा बढी धान रोपाइँ हुने जिल्ला
सबै भन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ,बर्दिया र बाँके जस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरु बाँझै रहेका छन् ।
कपिलवस्तुमा ६५ हजार आठ सय ७१ हेक्टरमध्ये पाँच सय २७ हेक्टर अर्थात १ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांकले देखाउँछ ।
दाङमा ३७ हजार दुई सय २५ मध्ये एक हजार चार सय ८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै शुरु हुनसकेको छैन । बाँकेमा ३४ हजार सात सय ११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार एक सय ५० हेक्टरमध्ये चार हजार दुई सय ६३ हेक्टर, गुल्मीमा सात हजार पाँच सय ३९ मध्ये तीन सय ९१ र अर्घाखाँचीमा छ हजार सात सय ६० हेक्टरमध्ये छ सय ७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन पाँच लाख ३९ हजार चार सय ४३ हेक्टर रहे पनि धान खेती तीन लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार चार सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार आठ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रुपमा रहेको छ । कूल ग्रार्हस्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार छ लाख ९२ हजार नौ सय ८२ कृषक परिवार संख्या रहेको छ ।
ढिलो रोपाई हुनुको कारण
रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, इन्धनको मूल्य बढ्दा पनि अधिकांश किसानले समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महंगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

