तुलसीपुर,१६ असार
टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुका लागि क्षमता विकास तालिम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा शुक्रबार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा २६ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा टोल बिकास संस्था कार्यबिधि २०७७ मा उल्लेखित टोल विकास संस्थाको काम,कर्तब्य र अधिकारका बारेमा जानकारी दिइएको थियो । टोलको बिकासका लागि कस्तो नेतृत्व आवश्यक पर्छ, कस्ता गुण र बिशेषता हुनुपर्छ भन्ने बारेमा समेत तालिममा जानकारी गराईएको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत बार्षिक योजना तर्जुमा प्रक्रियाका ७ चरणका बारेमा समेत उक्त तालिममा सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागि टोल विकास संस्थाका केशर सेजुवाल र शोभा के.सी.ले टोल बिकास संस्थाका काम,कर्तब्य र अधिकार लाई ब्यबहारमा लागु गर्न सके आम नगरिकलाई स्थानीय सरकार भएको अनुभूति गराउन सकिने बताउनुभयो । यो अधिकारले वडा कार्यालयको सहयोगीको रुपमा भूमिका खेल्न सकिने र नागरिकलाई स्थानीय सरकारसँग जोड्न सकिने आधार बन्ने बताउनुभयो ।
वडा अध्यक्ष शिवानन्द डिसीले टोल विकास संस्थाका पदाधिकारीहरुलाई थप क्षमता बिकास गराउने योजना रहेको बताउनुभयो ।
वडा सचिव राजु श्रेष्ठले स्वागत मन्तब्य गर्नुभएको कार्यक्रममा तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत र निर्मल नेपाली हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन बिनु हमालले गर्नुभएको थियो ।