सुशील बस्नेत
तुलसीपुर,१३ असार
स्थानीय तहले नागरिकलाई गणतन्त्रको अनुभूति हुने गरी काम गर्न थालेको संकेत देखाएका छन् । त्यस्तै एक संकेत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले देखाएको हो । वडा नम्वर ११ ले आगामी साउन १ गतेदेखि लागुहुने गरी ३ वटा कामलाई वडाबासीको सुखदुखमा महसुस हुने योजना कार्यान्वयन गरिने वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रावतका अनुसार साउन १ गतेदेखि वडा नम्वर ११ का कुनैपनि नागरिकलाई सर्पदंश भए त्यसको उपचारका लागि जान एम्बुलेन्सको ब्यबस्था हुने छ । एम्बुलेन्सको भाडा वडा कार्यालयले भुक्तानी गर्ने योजना रहेको छ । जसका कारण नागरिकले तत्काल उपचार पाउने छ र आफ्नो जिवन रक्षा गर्ने छ, वडा अध्यक्ष रावतले भन्नुभयो । धामी,झार्की र फुकफुक जस्ता परम्परागत उपचार बिधिमा अल्मलिने छैनन,उहाँले भन्नुभयो ।
आगामी साउन १ गतेदेखि लागुहुने दोस्रो योजना अन्तर्गत सुत्केरीका लागि कुखुराको भाले उपहार छ । वडा नम्वर ११ को उरहरी स्वास्थ्य केन्द्रमा गर्भवतिको बिभिन्न ८ चरणको स्वास्थ्य चेकजाँच नियमित गरेको हुनुपर्ने मापदण्ड बनाईएको छ । चेकजाँच मापदण्ड पुरा गरेकी सुत्केरीका लागि कुखुराको भाले उपहार प्रदान वडाले गर्ने छ । तर २० बर्ष पुरा नभएकी सुत्केरीका लागि भने यो उपहार प्रदान गरिने छैन, वडा अध्यक्ष रावतले भन्नुभयो । सुत्केरीका लागि बनाईएको मापदण्डमा बालबिबाह न्यूनिकरण अन्तर्गत उमेरको हद राखिएको छ । जुन बिहेवारी २० बर्ष पारि हुनुपर्ने छ । जुन मापदण्ड गर्भवति महिलाले पुरा गरेको हुनुपर्ने छ । तर सुत्केरी हुदाका बखत अन्य कुनै पनि स्वास्थ्य संस्था अर्थात अस्पतालमा रिफर भई शिशु जन्माएको खण्डमा सुत्केरीका लागि कुखुराको भाले ती सुत्केरी महिलाले उपहार स्वरुप प्राप्त गर्न सक्ने छिन । वडाको तेस्रो योजना वडा नम्वर ११ को कुनै पनि नागरिकको निधन भए किरीया बसेको परिवारलाई १ किलो घिउ उपलब्ध गराईने छ । वडा अध्यक्ष रावतले भन्नुभयो, वडाबासीको हैसीयतले जुनसुकै वर्ग,जातधर्मका परिवारलाई कोरामा (दुखमा बसेका बखत) बसेकालाई घिउ उपलब्ध गराईने छ । यी तिनवटा योजनाले वडा र वडाबासी बिचको सम्बन्ध अझ प्रभाबकारी हुने अपेक्षा वडा कार्यालयले लिएको छ । यसअघि वडा नम्वर ११ ले वडा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीका लागि निशुल्क फोटोकपी,प्रिन्ट जस्तो सेवा उपलब्ध गराउदै आएको छ ।