नेपालले वेस्ट इन्डिजसँगको टेस्ट राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय शृंखलामा लगातार दुई जित, शृंखलाको अन्तिम खेल आज मंगलबार हुँदैछ

असोज १४ गते

नेपालले वेस्ट इन्डिजसँगको टेस्ट राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय शृंखलामा लगातार दुई जित निकाल्दै शृंखला आफ्नो नाममा गरेको छ।
सोमबारको खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ।
२ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो । शृंखलाको अन्तिम खेल आज मंगलबार हुँदैछ । आजको खेलमा पनि जित निकाले अर्को इतिहास फेरि बन्नेछ । नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेलको द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन ।
आज मंगलबारको खेल जितेमा नेपालले आफ्नो इतिहासको पानामा सन् २०२५ मा हासिल गरेको यो उपलब्धि सुनौलो अक्षरले लेख्नेछ ।
वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा उत्कृष्ठ प्रदर्शन गरेको थियो ।
आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए ।
शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।
नेपाली क्रिकेट टोलीका लागि यस शृंखलामा इतिहास बनाउने दुई अवसर रहेकोमा दुवै पूरा भएको छ । आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने तथा द्विपक्षीय शृंखला जित्ने पनि नेपाललाई अवसर थियो । शृंखलाका तीनमध्ये दुई खेल मात्र सकिँदा यी दुवै रेकर्ड बनेको छ ।
नेपालले हालसम्म एसोसियट राष्ट्रसँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो । टेस्ट राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय शृंखलामा नै जित निकाल्न सफल भएको हो ।
नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ । सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो । सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।
२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।

ब्याटिङ, बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन

नेपालका लागि दोस्रो खेलको जित अझ विशेष रह्यो । यस खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै २ पटकको विश्वविजेता टोली वेस्ट इन्डिजलाई पूर्णरूपमा निरिह बनायो । नेपालले टस जितेर सुरुवाती ब्याटिङको निर्णय गरेको थियो । सुरुवात राम्रो नभएपनि नेपालको मध्यक्रम फेरि आज सुदृढ देखियो । ४३ रनमा ३ विकेट गुमेको अवस्थाबाट आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गर्नुभयो ।
यस क्रममा आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने जोराले ३९ बलमा ६३ रनको विस्फोटक पारी खेल्नुभयो । जोराले ३ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो ।
खेलपछि कप्तान रोहितले आसिफ र जोराको इनिङको प्रशंसा गर्नुभयो । ‘स्ट्राइक रोटेटदेखि शट सेलेक्सनमा राम्रो भयो, राम्रो पार्टनरशिप बनेपछि जित्छौं भन्ने थियो’ उहाले भन्नुभयो ।
त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजविरुद्ध नेपाल सुरुदेखि नै हावी बन्यो । खेलको तेस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता हात पार्नुभयो भने चौथो ओभरमा कुशल भुर्तेलले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले ५ रन जोड्दा २ विकेट गुमायो । पावरप्ले सकिँदा वेस्ट इन्डिजले २ विकेट गुमाएर १६ रन मात्र बनाएको थियो ।
नवौं ओभरमा गुल्शनले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले तेस्रो विकेट गुमायो । त्यसपछि आदिलले ३ ओभरको स्पेलमा ३ विकेट निकाल्नुभयो । यसबीचमा कुशल भुर्तेलले पनि १ विकेट लिनुभयो ।
गुल्शनले बाउन्ड्रीमा अर्को शानदार डाइभिङ क्याच लिँदा वेस्ट इन्डिजको नवौं विकेट गुमिसकेको थियो । त्यसपछि अन्तिम विकेटका रूपमा भुर्तेलले सफलता प्राप्त गर्दा करणले राम्रो क्याच लिनुभयो ।
आदिलले ४ तथा भुर्तेलले ३ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ धराशायी बनेको थियो । त्यसमाथि फिल्डिङमा उत्कृष्ट प्रदर्शन हुँदा सुनमा सुगन्ध थपिएको थियो । रोहितले फिल्डिङमा नेपाल राम्रो भएको र धेरै मेहेनत पनि गरेको उल्लेख गर्नुभयो । ‘

सन्दीप र आदिलको उत्कृष्ट कमब्याक

राष्ट्रिय टोलीमा ३ वर्षपछि फर्किएका मोहम्मद आदिल आलमले सोमबारको खेल खेल्ने मौका पाउनुभयो । ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा शानदार प्रदर्शन गर्नुभयो ।
कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराउनुभयो । आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिनुभयो । फिल्डिङमा पनि एक क्याच लिनुभयो । आदिलले पुनरागमनमार्फत पाएको मौकालाई सदुपयोग गर्नुभयो ।
३ वर्षअघि स्पट फिक्सिङ प्रकरणमा परेर प्रतिबन्धमा परेका आदिल प्रतिबन्ध फुकुवापछि नेपाली टोलीको क्याम्पमा बोलाइएका थिए भने त्यसपछि आसामसँग खेल्ने नेपाल ए को टोलीमा पर्नुभएको थियो । आसामसँगको शृंखलामा आदिलको प्रदर्शन शानदार रह्यो । त्यहीँको प्रदर्शनबाट उनलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो ।
यस्तै सन्दीप जोराले पनि आसामसँगको शृंखलामा देखाएको लयलाई निरन्तरता दिनुभयो । उहाले पहिलो खेलमा धेरै रन बनाउन नसकेपनि आजको खेलमा मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै आफूलाई प्रमाणित पनि गरेर देखाउनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *