असोज १४ गते
नेपालले वेस्ट इन्डिजसँगको टेस्ट राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय शृंखलामा लगातार दुई जित निकाल्दै शृंखला आफ्नो नाममा गरेको छ।
सोमबारको खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ।
२ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो । शृंखलाको अन्तिम खेल आज मंगलबार हुँदैछ । आजको खेलमा पनि जित निकाले अर्को इतिहास फेरि बन्नेछ । नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेलको द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन ।
आज मंगलबारको खेल जितेमा नेपालले आफ्नो इतिहासको पानामा सन् २०२५ मा हासिल गरेको यो उपलब्धि सुनौलो अक्षरले लेख्नेछ ।
वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा उत्कृष्ठ प्रदर्शन गरेको थियो ।
आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए ।
शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।
नेपाली क्रिकेट टोलीका लागि यस शृंखलामा इतिहास बनाउने दुई अवसर रहेकोमा दुवै पूरा भएको छ । आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने तथा द्विपक्षीय शृंखला जित्ने पनि नेपाललाई अवसर थियो । शृंखलाका तीनमध्ये दुई खेल मात्र सकिँदा यी दुवै रेकर्ड बनेको छ ।
नेपालले हालसम्म एसोसियट राष्ट्रसँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो । टेस्ट राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय शृंखलामा नै जित निकाल्न सफल भएको हो ।
नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ । सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो । सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।
२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।
ब्याटिङ, बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन
नेपालका लागि दोस्रो खेलको जित अझ विशेष रह्यो । यस खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै २ पटकको विश्वविजेता टोली वेस्ट इन्डिजलाई पूर्णरूपमा निरिह बनायो । नेपालले टस जितेर सुरुवाती ब्याटिङको निर्णय गरेको थियो । सुरुवात राम्रो नभएपनि नेपालको मध्यक्रम फेरि आज सुदृढ देखियो । ४३ रनमा ३ विकेट गुमेको अवस्थाबाट आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गर्नुभयो ।
यस क्रममा आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने जोराले ३९ बलमा ६३ रनको विस्फोटक पारी खेल्नुभयो । जोराले ३ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो ।
खेलपछि कप्तान रोहितले आसिफ र जोराको इनिङको प्रशंसा गर्नुभयो । ‘स्ट्राइक रोटेटदेखि शट सेलेक्सनमा राम्रो भयो, राम्रो पार्टनरशिप बनेपछि जित्छौं भन्ने थियो’ उहाले भन्नुभयो ।
त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजविरुद्ध नेपाल सुरुदेखि नै हावी बन्यो । खेलको तेस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता हात पार्नुभयो भने चौथो ओभरमा कुशल भुर्तेलले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले ५ रन जोड्दा २ विकेट गुमायो । पावरप्ले सकिँदा वेस्ट इन्डिजले २ विकेट गुमाएर १६ रन मात्र बनाएको थियो ।
नवौं ओभरमा गुल्शनले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले तेस्रो विकेट गुमायो । त्यसपछि आदिलले ३ ओभरको स्पेलमा ३ विकेट निकाल्नुभयो । यसबीचमा कुशल भुर्तेलले पनि १ विकेट लिनुभयो ।
गुल्शनले बाउन्ड्रीमा अर्को शानदार डाइभिङ क्याच लिँदा वेस्ट इन्डिजको नवौं विकेट गुमिसकेको थियो । त्यसपछि अन्तिम विकेटका रूपमा भुर्तेलले सफलता प्राप्त गर्दा करणले राम्रो क्याच लिनुभयो ।
आदिलले ४ तथा भुर्तेलले ३ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ धराशायी बनेको थियो । त्यसमाथि फिल्डिङमा उत्कृष्ट प्रदर्शन हुँदा सुनमा सुगन्ध थपिएको थियो । रोहितले फिल्डिङमा नेपाल राम्रो भएको र धेरै मेहेनत पनि गरेको उल्लेख गर्नुभयो । ‘
सन्दीप र आदिलको उत्कृष्ट कमब्याक
राष्ट्रिय टोलीमा ३ वर्षपछि फर्किएका मोहम्मद आदिल आलमले सोमबारको खेल खेल्ने मौका पाउनुभयो । ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा शानदार प्रदर्शन गर्नुभयो ।
कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराउनुभयो । आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिनुभयो । फिल्डिङमा पनि एक क्याच लिनुभयो । आदिलले पुनरागमनमार्फत पाएको मौकालाई सदुपयोग गर्नुभयो ।
३ वर्षअघि स्पट फिक्सिङ प्रकरणमा परेर प्रतिबन्धमा परेका आदिल प्रतिबन्ध फुकुवापछि नेपाली टोलीको क्याम्पमा बोलाइएका थिए भने त्यसपछि आसामसँग खेल्ने नेपाल ए को टोलीमा पर्नुभएको थियो । आसामसँगको शृंखलामा आदिलको प्रदर्शन शानदार रह्यो । त्यहीँको प्रदर्शनबाट उनलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो ।
यस्तै सन्दीप जोराले पनि आसामसँगको शृंखलामा देखाएको लयलाई निरन्तरता दिनुभयो । उहाले पहिलो खेलमा धेरै रन बनाउन नसकेपनि आजको खेलमा मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै आफूलाई प्रमाणित पनि गरेर देखाउनुभएको छ ।