तुलसीपुर,६ भदौ
महिलाहरु माथि हुने कुनै पनि प्रकारका बिभेद तथा हिंसाका बिरुद्ध महिला अभियान्ताहरु गाँउ टोलमा खटिएका छन् । दलित महिला संघ तुलसीपुरले दाङका बिभिन्न पालिकाका महिलाहरुलाई छनौट गरि लैङ्गिक बिभेदका बिरुद्ध अभियान सञ्जालन गर्न अगुवा महिलाहरुलाई टोल समाजमा खटाईएको दलित महिला संघकी अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।
झण्डै २६ जना महिलाहरुलाई क्षमता बिकास तालिम दिईएको उहाँले बताउनुभयो । ती महिलाहरुलाई समुदायमा नेतृत्व कसरी गर्न सकिन्छ,संवाद सहजिकरण सीप,मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेख गरिएको अधिकारहरु,जातिय बिभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा र त्यसको कार्यान्वयनको राम्रो र चुनौति,मौलिक हकका ब्यबस्था लगायतका बिषयमा तालिम दिईएको दलित महिला संघले जनाएको छ ।
अगुवा महिला अभियान्ताको रुपमा बिकास गरिएका यी २६ जना महिलाहरुले महिला माथि हुने कूनै पनि हिंसाका बिरुद्ध अपनाईने कानुनी उपचार, दलित समुदायमा हुने जातिय बिभेद तथा छुवाछुतका बिरुद्ध गरिने कानुनी उपचार बिधि,बाल बिबाह न्यूनिकरणका उपाय लगायतमा टोल समुदायमा भूमिका खेल्ने छन् ।
त्यस्तै, आयआर्जन गर्न अपनाईने उपाय,राजनीतिक अधिकारमा पहँुच लगायतमा यी महिलाहरु संगठित भई अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिनुभयो । बिभिन्न ४ किसीमका प्रशिक्षण दिई उनीहरुको क्षमतामा बिकास गरिएको छ । यो समुह /सञ्जालमा दलित महिलाहरुको बाहुल्यता रहेको छ भने कयौ वर्तमान तथा पूर्व जनप्रतिनिधिहरु पनि छन् ।
यसैबिच समग्र विकासको अवरोध,जातीय तथा लैङिक बिभेद भन्ने नाराका साथ अगुवा महिला अभियान्तालाई अन्तराष्ट्रिय मानव अधिकारका औजारका बिषयमा अभिमुखिकरण कार्यक्रम बिहिबार तुलसीपुरमा सम्पन्न गरिएको छ । दलित महिला संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको १ दिने उक्त कार्यक्रमको प्रशिक्षकमा अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत र ओरेक नेपाल दाङकी पुजा बिकले गर्नुभएको थियो ।
लैङ्गिक बिभेदका बिरुद्ध महिला अगुवाहरु गाँउ टोलमा

