कात्तिक ३०
नेपाली कांग्रेसको नियमति महाधिबेशन पक्षले १५औँ महाधिवेशनको तयारी तीव्र पारेको छ। केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुनेछ।
त्यसका लागि वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला तहका अधिवेशन भइरहेका छन्। वडा अधिवेशन करिब सकिएका छन्। असोज १५ गतेदेखि वडा अधिवेशन सुरू भएको थियो।
बाढीपहिरो, चाडपर्वलगायत कारण निर्धारित समयमा अधिवेशनहरू भने हुन सकेका थिएनन्। समय थप गर्दै अधिवेशन सम्पन्न गर्दै लगिएको छ। विशेष गरी मधेसमा छठ पर्वका कारण रोकिएका अधिवेशन अब धमाधम सम्पन्न गर्ने तयारी छ। ७५३ स्थानीय तहमध्ये सोमबारसम्म ७३० वटामा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, ३३० प्रदेश सभा क्षेत्रमध्ये २८० र १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये १४६ वटामा अधिवेशन सकिएको छ।
७७ जिल्लामध्ये अहिलेसम्म ४८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
सातै प्रदेशको अधिवेशन भने हुन बाँकी छ, अधिवेशन मिति भने तय भइसकेको छ। यसअघिको कार्यतालिकामा मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने भनिएको थियो। तर केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा बागमती प्रदेश अधिवेशन मिति राखिएको छ।
१५औँ महाधिवेशन तयारी समितिको सचिवालयका संयोजक दीपकप्रसाद कुईकेलका अनुसार मंसिर ५ गते गण्डकी, ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेस, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेशको अधिवेशन उद्घाटन हुनेछ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका निवर्तमान सभापति शेरबहादुर देउवाले अधिवेशनहरू उद्घाटन गर्ने तयारी छ।
प्रदेश अधिवेशन सम्बन्धित प्रदेशका राजधानीमा गर्ने तयारी रहेको कुईकेलले बताउनुभयो । बागमती प्रदेशको अधिवेशन भने हेटौंडा वा काठमाडौंमध्ये कहाँ गर्ने टुंगो लाग्न बाँकी छ।
देउवा पक्षले १५औँ महाधिवेशनमा करिब ८ हजार १०० प्रतिनिधि सहभागी हुने अनुमान गरेको छ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनका पदाधिकारी र केन्द्रीय सदस्य, राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसद तथा २०७९ को निर्वाचनमा रुख चिह्न लिएर उम्मेदवार भई विजयी भएका स्थानीय तहका जनप्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था देउवा पक्षले गरेको छ। त्यस्तै, १८ देखि २८ वर्ष उमेर समूहका युवा पनि महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था छ। भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट कति प्रतिनिधि सहभागी गराउने भन्ने टुंगो लाग्न बाँकी छ।
सभापतिबाट करिब ३०० जना प्रतिनिधि मनोनयन गर्न पनि बाँकी रहेको छ। ‘८ हजार १ सय जना जति महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुने आकलन छ।
देउवा पक्षले तल्ला तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको हो।
नेतृत्वका बारेमा भने देउवा पक्षभित्र छलफल भइसकेको छैन। प्रदेश अधिवेशनहरू सकेर सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने तयारी छ। पार्टीका तल्ला तहमा पनि देउवा पक्षले सहमतिमै नेतृत्व तथा प्रतिनिधि चयन गर्दै ल्याएको देखिन्छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशन तयारी गरिएको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको राष्ट्रिय सम्मेलनले देउवाको निर्देशनमा कोइरालाले अधिवेशन तयारीका काम गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अब डा.कोइराला नै सभापति बन्ने चर्चा पनि छ।
कोइरालासहित पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह, नेताहरू प्रकाशशरण महत र एनपी साउद पनि नेतृत्वका आकांक्षी रहेको चर्चा छ। १४ औं महाधिवेशनमा देउवासँगै निधि र सिंह पनि सभापति पदका उम्मेदवार हुनुभएको थियो।
तर अहिलेसम्म कुनै नेताले पनि सभापति वा पदाधिकारीमा उम्मेदवारी घोषणा गरिसकेका छैनन्। विधानअनुसार तेस्रो पटक सभापति पदका लागि उम्मेदवार हुन देउवाले पाउँनुहुदैन्। उहाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ।
देउवा पक्षले काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरिसकेको छ।
गत वर्ष पुसमा विशेष महाधिवेशन गरेदेखि कांग्रेसभित्र विवाद उत्पन्न भएको थियो।
उक्त विवाद बढ्दै जाँदा र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदा थापा र देउवा पक्ष बेग्लाबेग्लै महाधिवेशन गर्ने अवस्थामा पुगेका हुन्।
