राप्ती उपत्यका, ४ भदौ
गत साउन ७ गते मुख्यमन्त्री बन्नुभएका लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मंगलबार विश्वासको मत लिंदै हुनुहुन्छ । नेपाली कांग्रेससंगको गठबन्धनबाट आचार्य मुख्यमन्त्रीमा नियुक्त बन्नुभएको हो ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन हुनुभएको छ । दल नेता चयन भएपछि उहाले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थाल्नुभएको हो ।
कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप जारी गरेका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।
लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उकरएक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दलकै स्पष्ट वहुमत रहेको र साना दल समेत सत्ता पक्षमा रहेकाले विश्वासको मत पाउने निश्चित रहेको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले बताउनुभयो ।
शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलोपटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नुभएको थियो ।
करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री समेत बनि सक्नुभएको छ ।
दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोखबहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री हुनुभएको थियो ।
संसदीय दलको नेता र पार्टी पोर्टफोलियोमा समेत सिनियर लिला गिरीलाई पन्छाएर महासचिव शंकर पोखरेल पक्षका आचार्यलाई मुख्यमन्त्री बनाइएपछि गिरी र उहा पक्षका नेता कार्यकर्ता रुष्ट भएका छन् ।

गिरी पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । आचार्य दल नेता चयन भएपछि यसअघि सचेतक रहेकी दाङकी रेखाकुमारी शर्मालाई हटाएर रोल्पाकी यमुना गुरुङ तामाङलाई सचेतक नियुक्त गरेका छन् । यसले समेत एमालेभित्र असन्तुष्टि बढेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *