दाङ,साउन २०
शुक्रबार बेलुका तुलसीपुर उपमहानगरपालिका– ४ स्थित ‘नवलपुर ठूलो खोला’मा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएकी १७ वर्षीया मञ्जु खड्काको शव भेटिएको छ।
आइतबार बिहान बबई गाउँपालिका-५ खैरभट्टी भन्ने ठाउँमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
शव भेटिएको स्थान अटो बगाएको ठाउँभन्दा ५५ किलोमिटर पर हो। त्यहाँ भेटिएको शव मञ्जुकै हो भनेर उहाकी आमा ममता खड्काले सनाखत गर्नुभएको छ |
शुक्रबार बेलुका करिब पौने ७ बजेतिर ठूलो बर्षा पछि खहरे खोला ‘नवलपुर ठूलो खोला’ मा आएको बाढीले बगाउँदा तुलसीपर – ४ खाद्रेकी गाउँकी ५५ बर्षीया सीता आलेको पनि मृत्यु भएको थियो ।
उहाको शव भने शनिबार बिहान तुलसीपुर – १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा घटनास्थल भन्दा झन्डै १५ किलोमिटर टाढा फेला परेको थियो। सीता मञ्जुको मावली हजुरआमा हुनुहुन्छ ।
