सुशील बस्नेत
तुलसीपुर,२५ फागुन
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पुस्तक बिक्रि गर्न तुलसीपुर आईपुग्नुभएको छ । बिहीबार तुलसीपुर आईपुग्नुभएका पुनले शुक्रबार बिहानदेखि आफ्नो जीवन कथामा आधारित पुस्तक तुलसीपुरको बीपिचौकमा बिक्रि गर्न शुरु गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत आफुले पुस्तक बिक्रि गर्ने स्थानको जानकारी दिने गरेका पुनको पर्खाई दाङबासी रहेका थिए । पुस्तक बिक्रि गर्न बिहानी पख् तुलसीपुरको बीपिचौकमा आउनु अघि नै पुस्तक खरिदका लागि मानिसहरु आईसकेका थिए । पुस्तक खरिद गर्ने र तस्बीर उहाँसगै खिच्नेहरुको घुईचो नै लागेको थियो । पुस्तक बिक्रि सोचेको भन्दा राम्रो भएको बताएको छ ।
पुनका अनुसार ‘महावीर पुन( सम्झना, सपना र अविरल यात्रा’ नाममा सो पुस्तक रहेको छ । सो पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ ।
यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।
यसअघि उक्त पुस्तक खरिद गर्ने इच्छुक व्यक्तिहरूका लागि पुनले अनलाइन फाराम लिंक उपलब्ध समेत गराउनुभएको थियो । तर पछिल्लो पटक उहाँले पुर्वि नेपालका बिभिन्न जिल्ला हुदै पश्चिम नेपालका केही भागमा पुस्तक बिक्रि गर्नुभएको छ । धनगढी हुदै उहाँ बिहीबार दाङको तुलसीपुर आईपुग्नुभएको हो ।
३०८ पेज रहेको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।

