ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

घोराही ,फाल्गुन २५

फागुन २८ देखि चैत २२ गतेसम्म मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन हुदैछ । यथार्थ विवरण संकलनका लागि अद्यावधिकको क्रममा मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, निधन भइसकेका मतदाताको नाम हटाउनेलगायतका काम हुने बताइएको छ ।
त्यसैगरी दोहोरो नाम भएमा हटाउने, यसअघि कसैले झुट्टा विवरण पेश गरी मतदाता नामावलीमा नाम दर्ता गरेको भए सोही अवधिमा उजुरी समेत गर्न पाइने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार हाल कायम भएका मतदाताहरुको नामावली आयोगको वेवसाइटमा फागुनको २८ गते सार्वजनिक गरिनेछ । सोही नामावलीको आधारमा मतदाताले कुनै त्रुटि भएमा वा झुट्टा नामावली पेश भएको भएमा, दोहोरो नामावली भएमा २९ गतेदेखि चैत ५ गतेसम्म अनलाइन, निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ ।
कसैले नेपाली नागरिकता त्याग गरेको भएमा वा मतदाताको मृत्यु भएको खण्डमा पनि सोही मितिमा निर्वाचन कार्यालय, अनलाइन वा वडा कार्यालयमार्फत सुचना दिन सक्नेछन् ।
उजुरी परेको खण्डमा चैत ६ गतेदेखि ८ गतेसम्म सफाइको मौका दिइने र चैत ९ गतेदेखि १२ गतेसम्म मतदाता नामावलीबाट नाम हटाउने सम्बन्धमा छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, नाम हटाउनेलगायतका कानुन बमोजिमका काम गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
चैत १२ देखि १५ सम्म नाम हटाएको वा त्रुटि सच्याएको बारेमा प्रदेश निर्वाचन कार्यालय र वडा कार्यालयमा सूचना प्रकाशन गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सन्दर्भमा निवेदन प्राप्त भए सो बारेमा छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक गराई आयोगमा पठाउने भएको छ । चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नाम दर्ता अधिकारी चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *