रोल्पा,२३ फागुन
झाडुका साथ मन्दीर परिसरमा प्रबेश गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख श्याम सारुमगर आफै सरसफाईमा जुट्दा प्रहरी अधिकृत,जवान तथा स्थानीयमा उत्साह थपिएको छ । रोल्पा नगरपालिका वडा नम्वर ४ लिबाङमा रहेको शिवालय मन्दिर परिसरमा प्रहरी प्रमुख सरसफाई अभियानमा जुटेपछि प्रहरी कर्मचारीहरुमा समेत थप उत्साह देखिएको हो । उहाँको अगुवाईमा तीसजना भन्दाबढी प्रहरी कर्मचारी सरसफाइका लागि हातहातमा झाडु लिएर निस्किएका थिए । झाडु लगाउदै सरसफाईमा जुटिरहेका जिल्ला प्रहरी प्रमुख सारुमगरलाई स्थानीयको जिज्ञासा थियोे, प्रहरी प्रमुख हुनुहुन्छ, जनताको शान्ति सुरक्षा यहाँको प्रमुख दायित्व हो । किन झाडु समातेर निस्कनु भयो । जवाफमा उहाँले मुस्कुराउँदै भन्नुभयो “काम सानो या ठूलो भन्ने हुँदैन । हामी जनताका साथी हौं । शान्ति सुरक्षा हाम्रो प्रमुख दायित्व हो यस बाहेक समूदायसंग साझेदारी गर्नु समाजमा रहेका सबैखाले काम गर्नु हाम्रो कर्तव्य हो त्यसैले हामीले जनतासंग सहकार्य गरेर अघि बढ्दै पर्छ” उहाँको सटिक जवाफ थियो ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रोल्पाको सहकार्यमा रोल्पा नगरपालिका वडा नम्वर ४ लिबाङमा रहेको शिवालय मन्दिर परिसरमा सरसफाइ गरिएको हो । बजार क्षेत्रमा अवस्थित रहेको हुँदा मन्दिर परिषर फोहर भएको थियो । डीएसपी सारुमगरसंगै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर डाँगी, अपांग कल्याण समाज रोल्पाका अगुवा दिनेश आचार्य लगायत अन्य स्थानीय बासिन्दाले समेत सरसफाइ अभियानलाई साथ दिएका थिए । आउँदै गरेको महाशिवरात्रीलाई लक्षित गर्दै मन्दिर परिषर सरसफाइ गरिएको हो । जिल्लामा सुस्ताउँदै गएको सरसफाइ अभियानलाई यो कार्यक्रमले झकझकाउने छ भन्ने आशा लिइएको छ ।

