दाङ, ५ फाल्गुन ।
बुहु चर्चामा रहेको तुलसीपुर घोराही फोरलेन सडक खण्ड अलपत्र परेपछि राष्ट्रीय स्वतन्त्र पार्टीले मार्चपास गरेको छ ।आमनागरिकले चासो लिएको तर अलपत्र परेको यो सडक बारे सरकारलाई ध्यानाकर्षन गराउन रास्वपाले घोराही देखि तुलसीपुर सम्म पैदल हिँडेर र्याली निकालिएको छ ।
र्याली पश्चात तुलसीपुरको वीरेन्द्र चोकमा कोणसभा गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालले देसभरका अलपत्र परेका २१ योजनाहरुको काम समयमै सम्पन्न गराउन दबाबमुलक कार्यकम गरिरहेको जानकारी दिनुभयो । घोराही तुलसीपुर ४ लेन सडक समयमै बन्न नसक्दा यसको असर शिक्षा, व्यापार लगायत विभिन्न क्षेत्रमा परेको बनाउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री विपिन कुमार आचार्यले टरीगाउँ विमानस्थलको स्तरुन्नति हुन नसक्दा दाङ बासीले हवाई सेवा लिन जिल्ला बाहिर जानु परेको बताउनुभयो । केन्द्रीय सदस्य क्रान्तिसिखा धिताल, लुम्बिनी प्रदेश सभापति देवराज पाठक, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार कमल सुवेदीले ,दाङ क्षेत्र नं २ विशाल अधिकारीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
घोराही–तुलसीपुर चारलेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरी सम्झौता भयो । तर चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेन । सुरुमा २०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा काम सक्नुभन्दा पनि छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन ।
त्यसपछि २०७८ साल साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक र २०७८ साल पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ साल वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । त्यसपछि खरिद ऐनको १२औँ संशोधनले चौथोपटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकामा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएकाले ठेक्का रद्द गरिएको हो ।
सोही सडक सुरुमा अष्टभैरब निर्माण सेवाका अनुप पाण्डेले पेटी पाउनुभएको थियो । त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा लिनुभयो । पुनः अनुप पाण्डे ले लिनुभयो भने उहाले पनि काम गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का प्राप्त गर्नुभयो । उहाहरूबाट पनि काम हुन नसकेपछि सुनिलजङ्ग रायमाझी आउनुभयो र पनि उहाले पनि काम गर्न सक्नुभएन ।
भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा एक अर्ब २३ करोड) मा निर्माण गर्न भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रजेक्टले ठेक्का पाएको थियो ।
