ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

माघ २१ बुटवल

लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता हुने भएको छ ।
फागुन २७ देखि २९ सम्म सञ्चालन हुने यस सम्मेलनमा विभिन्न देशका २ सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको बताइएको छ । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ७ जना रहेका छन् । सत्यार्थीले सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन पनि गरिरहेका छन् ।
सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा ९१९९६०, जोडी विलियम्स ९१९९७०, सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्म्यान छन् । त्यस्तै सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेशनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्ट्स ९१९९३०, रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल ९२०१३० पनि लुम्बिनी आउँदै हुनुहुन्छ । त्यसैगरी, शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङलगायतको पनि सहभागिता रहने निश्चित भएको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव एवं सम्मेलनका संयोजक सुमन घिमिरेले बताउनुभयो ।
‘शिखर सम्मेलनमा कैलाश सत्यार्थीसहित विभिन्न राष्ट्रका ९ जना नोबेल शान्ति पुरस्कार विजेता तथा बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवालाहरूको सहभागी हुने निश्चित भएको छ,’ उनले भने, ‘सम्मेलनले बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वजगत्को ध्यानाकर्षण वृद्धि गर्ने विश्वास छ ।’ विश्वभर लुम्बिनी क्षेत्रको महत्त्व दर्शाउने र पर्यटन प्रवर्द्धन एवं विकास साझेदार भित्र्याउने पनि सम्मेलनको प्रमुख उद्देश्य रहेको उहाले बताउनुभयो।
बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बाल बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्न लागेको हो । सरकारले लुम्बिनीमा शिखर सम्मेलन गरेर विश्वभरका बालबालिकालाई प्राथमिकता र संरक्षणका लागि गौतम बुद्धका संकल्पको विश्वव्यापीकरण गर्ने र आवश्यक नीति र हस्तक्षेप गर्ने उद्देश्य राखेको सम्मेलन संयोजक घिमिरेले बताए । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा हुन लागेको सम्मेलनको अन्तिम तयारी चलिरहेको छ ।
मुख्यमन्त्री चौधरीले नोबेल पुरस्कार विजेता र विश्वका केही राजनेताको अगुवाइमा बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीलाई एकीकृत र साझा दृष्टिकोणसहित सम्बोधन गर्ने गरी लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । ‘सम्मेलनले आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको सिकार भइरहेका विश्वभरका बालबालिकाको संरक्षणका लागि ठोस नीति तय गर्ने विश्वास छ,’ उहाले भन्नुभयो ।
लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन पनि सम्मेलनले सहयोग गर्ने उहाले बताउनुभयो ।
सम्मेलनका लागि संघीय सरकार, परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकार मातहतका विभिन्न कार्यालय र निकायसँग विभिन्न चरणमा छलफल र तयारी बैठकहरू भइरहेको लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताउनुभयो ।
सम्मेलनका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनीका मुख्यमन्त्री चौधरीसहितको १३ सदस्यीय उच्चस्तरीय समिति पनि गठन गरिएको छ । निर्देशक जोशीले भने, ‘अहिलेसम्म २ सय जना अन्तर्राष्ट्रिय र १ सय बढी राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने निश्चित भएको छ ।’ विकासोन्मुख ठूला राष्ट्रका प्रमुखहरू, नोबेल पुरस्कार विजेताहरू, राजकुमारहरूसहित २ सय व्यक्तिको उपस्थितिले लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्त्वपूर्ण सहयोग पुग्ने उहाले बताउनुभयो ।
सम्मेलनका लागि चालु आवमा प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । मास्कीका अनुसार सम्मेलनमा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनका लागि विकासोन्मुख राष्ट्रका विकास प्रतिनिधिसँग लुम्बिनी सरकारको छुट्टै नीतिगत छलफल पनि हुनेछ ।

सम्मेलनको व्यवस्थापन

सम्मेलन संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा हुँदै छ । विभिन्न देशका राष्ट्रप्रमुखहरू, नोबेल पुरस्कार विजेताहरू, उच्चपदस्थ व्यक्तिहरूको सुरक्षा प्रमुख चासो हो । त्यसैले सुरक्षाका सबै पाटोमा संघीय सरकार र विशेष गरी परराष्ट्र मन्त्रालयले पनि संयोजन गरिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन समिति बनाएर तयारीका काम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकार र सरकारका मन्त्रीहरूले पनि विभिन्न समितिको जिम्मेवारी लिएर काम गरिरहेका छन् । अन्तर्राष्ट्रियस्तरको संयोजन सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता एवं ३ दशकदेखि बालअधिकारको वकालत गर्दै आइरहेका भारतका कैलाश सत्यार्थीले पनि संयोजन गरिरहनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *