आषाढ १२

दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि १० अर्ब १६ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कुल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४ सय ५४ को बजेट सार्वजनिक गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी हो । घोराही उपमहानगरपालिकाले दुई अर्ब ३७ करोड ९५ लाख २२ हजारको बजेट पेश गरेको छ ।
यसैगरी लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४, गढवा गाउँपालिकाले ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार र राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् । त्यस्तै, बबई गाउँपालिकाले ५६ करोड चार लाख ४३ हजार, शान्तिनगर गाउँपालिकाले ५२ करोड २५ लाख ४७ हजार र दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन् ।

टरिगाउँ विमानस्थलका लागि २५ करोड
नेपाल सरकारले टरिगाउँ विमानस्थलका लागि आर्थिक वर्ष २०८३÷८४ को बजेटमा २५ करोड विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड समावेश भएको हो ।
विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताउनुभयो । उहाँका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ । ‘विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकेको थिएन । हाल विमानस्थलको धानवमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले यहाँ १९ सिटे ट्वीनअटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन ।
धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटक–पटक पहल गर्दै आएका थिए । टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् । टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *