चैत २ गते
फागुण २१ गतेको चुनावले विगतको संसद्को राजनीतिक समीकरण बदलेको छ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अब करिब दुई तिहाइ उपस्थिति हुनेछ । दुई तिहाइका लागि रास्वपालाई दुई सिटको मात्र अभाव हुनेछ । प्रतिनिधि सभामा रास्वपाको प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट तय भएको छ । कांग्रेस, एमाले र माओवादी निकै खुम्चिएका छन् । कांग्रेस, एमाले र माओवादी एकठाँउमा रहँदा पनि उनीहरुले पाएको सिट रास्वपाको तुलनामा सय सिट कम हुन्छ ।
अघिल्लोपटक २१ सिट पाएको रास्वपाले यसपटक अनपेक्षित जनमत पाएको हो । धनुषा–१ मा रास्वपाकै उम्मेद्वार कालोसूचीमा परेर उम्मेदवारी रद्द भएकाले उसलाई एक सिट घाटा लागेको हो ।
प्रमुख विपक्षी दल कांग्रेस
३८ सिट पाएको नेपाल कांग्रेस अब प्रतिनिधिसभाको प्रमुख विपक्षी दल बन्नेछ । र, कांग्रेसले चयन गर्ने संसदीय दलको नेता प्रमुख विपक्षी दलको नेता बन्नेछन् । प्रमुख विपक्षी दलको नेतालाई सदस्यका हैसियतले संवैधानिक परिषद्मा भाग लिन पाउने सुविधा हुनेछ ।
त्यसबाहेक संसदीय अभ्यास अनुसार, प्रतिनिधिसभामा कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी वा राप्रपाले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गर्न पाउनेछ ।
ती बाहेक अरु सबैजसो समितिमा रास्वपाका सांसदहरुको बाहुल्यता रहनेछ । संसदीय सुनुवाई विशेष समितिमा भने राष्ट्रिय सभाबाट पनि सांसदहरु रहनेछन् ।
नयाँ अनुहारको संख्या धेरै
प्रतिनिधिसभामा २० जना बाहेक सबैजना पहिलोपटक सांसद् भएका व्यक्तिहरू छन् । २० मध्ये आधाजसो अघिल्लोपटक रास्वपाबाट निर्वाचित सांसदहरु हुन् । प्रत्यक्षमा मात्रै होइन, समानुपातिकमा पनि केही सीमित व्यक्तिबाट सबैजसो नयाँ सांसदहरू छन् ।
यसपटकको निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुन बाहेक सबैजसो पुराना नेताहरू प्रत्यक्ष निर्वाचनबाट पराजित भए । समानुपातिकमा केही सीमित अनुहार दोहोरिएका छन् । ती बाहेक अरु सबै सांसदहरू नयाँ छन् ।
औलामा गन्न सकिने केही सीमित बाहेक २०४६ सालको परिवर्तनपछि सदाबहार राजनीतिमा रहेका धेरै नेताहरू यसपटक पराजित भएका छन् । र, निर्वाचित अधिकांश यसअघि राजनीतिमा नदेखिएका र नसुनिएकाहरू हुन्, जसको आवाज अब सोझै संसदमा पुग्नेछ ।
प्रतिनिधि सभामा युवा बाहुल्य
प्रतिनिधिसभामा ९४ जना सांसदहरु ४० वर्षमुनिका छन् । आधा भन्दा बढी सांसदहरु ४५ वर्षमुनिका छन्, जसमा अधिकांश २०४६ सालको परिवर्तनपछि जन्मेकाहरू पर्छन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।
प्रत्यक्ष र समानुपातिक सांसदहरुको औसत उमेर नै ४५ वर्ष ४ महिना छ । नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनुहुने छ । ७० कटेका सांसदहरू पाँच जना छन् ।
निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको विवरण केलाउँदा के देखिन्छ भने निर्वाचित अधिकांश युवा सांसदहरू रास्वपाबाट छन् ।
रास्वपाले प्रत्यक्ष र समानूपातिकमा प्रौढ उम्मेदवारहरुलाई प्राथमिकता दिएको थिएन । ठिक उल्टो, निर्वाचित पाका र वृद्ध सांसदहरु कांग्रेस, एमाले र नेकपा जस्ता पुराना पार्टीबाट छन् ।
कांग्रेसबाट निर्वाचित कम उमेरकी सांसद ३० वर्षीया गीता गुरुङ हुनुहुन्छ तर उनीभन्दा कम उमेरका २६ जना सांसदहरू प्रतिनिधिसभामा छन् । एमालेबाट समानूपातिकमा चुनिएकी सबैभन्दा कम उमेरकी सांसद एसोदा कुमारी बराल हुनुहुन्छ, यो उमेरको हिसावले ४६ औं स्थानमा हुनुहन्छ ।
सप्तरी–४ बाट निर्वाचित ६५ वर्षीय सिताराम साह रास्वपाका सबैभन्दा जेष्ठ सांसद हुनुहुन्छ । उहाभन्दा बढी उमेरका १४ जना कांग्रेस, एमाले र नेकपाका छन् । रास्वपाबाट ६० कटेका सांसदहरू ३ जनामात्रै छन् । ७१ वर्षीय महावीर पुनले रास्वपाको समर्थनसम्म पाउनुभएको छ, उहाको हैसियत स्वतन्त्र नै हो ।
रास्वपाले प्रत्यक्षमा १ सय २५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट पाएको थियो । अघिल्लोपटकको तुलनामा रास्वपाले १०४ सिट बढी पाएको हो ।
नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट पाएको छ । उसले अघिल्लोपटकको तुलनामा ७० सिट गुमाएको छ ।
एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा ७० सिट कम हो । नेकपाले प्रत्यक्षमा ८ र समानूपातिकमा ९ गरी कुल १७ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा २४ सिट कम हो ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट पाएको छ । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट पाएको छ । म्याग्दीबाट महावीर पुन निर्वाचन जित्ने एकमात्रै स्वतन्त्र उम्मेदवार हुन् ।

