चखौरा, बैशाख ३०
बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयास गर्नुपर्ने सुझाव सरोकारवाला पक्षले जोड दिएका छन् । बेस संस्था र जष्टराईट फर चिल्ड्रेनको संयुक्त आयोजनमा मंगलबार पश्चिम दाङको चखौरामा बालबालिकाको न्यायमा पहँुच कार्यक्रमको सार्वजनिक सुनुवाईमा सहभागिहरुले नेपाल प्रहरीले विद्यालय, समुदाय र स्थानीय तहहरुसँग समन्वय गरेर बालबिबाहका घटना न्यूनिकरण गर्न सकिने बताएका हुन ।
आ आफ्नो तरीकाले अभियानहरु भएपनि यसको प्रभाबकारीता बिषयमा समिक्षा गर्नुपर्ने अबस्था रहेको पत्रकार दिपक बोहोराले बताउनुभयो ।
बालविवाहका घटना न्यूनीकरण विभिन्न कारण चुनौतीपूर्ण बनेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक कमल परियारले बताउनुभयो ।
बालविवाहका उजुरी समाजबाट आउन दिईदैन, आइहाल्यो भने प्रहरीले काउन्सिलिङ गर्न खोज्दा स्वयं परिवारले नै स्वीकार्न तयार हुँदैन । घरबाट हिंडिसकेको छोरीलाई फिर्ता लैजान्नौं भन्नुहुन्छ, यसले अर्को व्यवहारिक समस्या पैदा गरेको छ । यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने उहाले जोड दिनुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु गिरी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी,पत्रकार अमर क्षितिज भण्डारी बाल अधिकार,बालबिबाह र बाल संरक्षणका बिषयमा चासो ब्यक्त गर्दै बिभिन्न सुझाब दिनुभएको थियो ।
सो अवसरमा बाँकेकी बाल संरक्षण कार्यकता सुनिता चिडिमारले आफूले बालविवाह गरेका कारण महिला हिंसाको पीडा भोग्नुपरेको उल्लेख गर्दै हाल आफू बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । मधेसी तथा मुस्लिम बस्तीहरुमा पुग्दा बाल विवाहको डरलाग्दो अवस्था छ । ती बस्तीहरुमा कतिपय महिलाहरु यस्ता छन्, जसले २÷३ वटा बच्चा जन्माइसकेका छन् तर उनीहरुको उमेर अझै पनि २० वर्ष पुगेको छैन । कतिपयले बालविवाह गरेका कारण १८÷१९ वर्ष पुगिसक्दा पनि नागरिकता बनाउन सकेका छैनन् । न उनीहरुका बालबालिकाको जन्मदर्ता नै बन्न सकेको छ ।’
बालबिबाह रोकथाम अभियान्ता तुलसीपुर–१३ की मुना बिकले वैशाख महिनामा दाङमा मात्रै ७ वटा बालविवाहका घटना रोक्न सफल भएको जानकारी दिनुभयो ।
उहाले अनुभव सुनाउदै भन्नुभयो, समुदायमै गुपचुप पारिने यस्ता घटनाहरु धेरै हुने गरेका छन् । त्यसकारण बालविवाह न्यूनीकरण १÷२ जनाले चाहेर हुँदैन, सबैको साझा प्रयासले मात्रै रोक्न सकिन्छ ।’
बेस संस्थाले लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बालविवाह तथा महिला हिंसा न्यूनीकरण क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रमअन्तर्गत गत माघदेखि चैतसम्म समुदायमा पुगेर गरिएको सर्वेक्षणमा २ सय ६१ जोडीले बालविवाह गरेको भेटिएको कार्यक्रम निर्देशक पिंकी डाँगीले बताउनुभयो । ५ वटा यौन दुव्र्यवहारका घटना र ७ वटा बालविवाहका घटनाका बालिकाहरु विद्यालय जान थालेकोले जानकारी दिनुभयो । सो अवसरमा कानून अधिकृत प्रीया लामिछानेले सार्वजनीक सेवा प्रबाहको उपलब्धी र बरिष्ठ लेखा तथा प्रशासन प्रमुख हरि चौधरीले बजेट तथा खर्च बिबरण प्रस्तुत गर्नुभएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता जष्टराईट फर चिल्ड्रेन संस्थाका अध्यक्ष चन्द्रबहादुर चौधरीको अध्यक्षतामा भएको थियो भने धन्यबाद ज्ञापन संस्थाका उपाध्यक्ष आशाराम चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले गर्नुभएको थियो ।

