चखौरा दाङ, बैशाख २९

‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावाँ–बरघर–भलमन्साहरूको अन्तर प्रदेशस्तरीय सम्मेलन र अनुभव आदान–प्रदान’ कार्यक्रम सोमबार पश्चिम दाङको चखौरामा सम्पन्न भएको छ ।
‘मटावाँ–बरघर–भलमन्सा संघ’ केन्द्रीय समितिको समन्वय तथा सहजिकरण र पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको संयुक्त आयोजनामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ७ सदस्य जनाको सहभागितामा मटावाँ–बरघर–भलमन्साहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको संघका केन्द्रीय महासचिव मथुरा प्रसाद चौधरीले जानकारी दिनुभयो ।
संघका बरिष्ठ उपाध्यक्ष धिरेन्द्र चौधरीको अध्यक्षता एबम लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुदै सभामुख घर्तीमगरले लुम्बिनी प्रदेशमा पास हुने तयारीमा रहेको थारु समुदायको प्रथाजनीत कानून नै नेपालको प्रथाजनीत कानून पहिलो हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, कुन कुन कानून आबश्यक छ, निर्माण गर्ने र कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर कानून निर्माण गर्दा सम्बन्धी सरोकारवाला पक्षको सहभागिता भने हुनुपर्छ, उहाँले सुझाब दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनालले ‘मटावाँ–बरघर–भलमन्सा बिधेयक प्रदेश सभामा पारितका लागि पेश गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । यो बिधेयक पारित भए थारु समुदायको प्रथा परम्पराले कानुनी मान्यता पाउने बताउनुभयो ।
लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात ब्यबस्था मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रथा परम्पराको कानुनी मान्यता संगै उत्पादन र रोजगारीमा जोडनुपर्ने बताउनुभयो । थारु समुदायले उत्पादन गर्ने आफ्रनै प्रकारको बस्तुलाई ब्राण्डीङ र बजारीकरण गरि मुलुकमा आर्थिक बिकासमा टेवा पुरयाउन सकिने सुझाब दिनुभयो ।
प्रतिनिधि सभासदस्य सुरेन्द्र चौधरीले थारु समुदायको पहिचान अधिकारको बारेमा चर्चा गर्नुहुदै आगामी अधिबेसनमा ‘मटावाँ–बरघर–भलमन्सा बिधेयक प्रतिनिधि सभामा पेश गर्न पहल गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘मटावाँ–बरघर–भलमन्साको महत्वका बारेमा चर्चा गर्दै राज्यका निकायले अझै नजिकबाट चिन्न नसको बताउनुभयो ।
सो अवसरमा ‘मटावाँ–बरघर–भलमन्सा प्रथाजनित कानुन निर्माण गरि लागु गर्ने स्थानीय तहको तर्फबाट दाङको दंगीशरण गाँउपालिकाका प्रमुख शम्भु गिरी, बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरी र कैलाली जिल्लाको कैलारी गाँउपालिकाका प्रमुख राजसरज चौधरीले अनुभव सुनाउनुभएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य देबि चौधरी,थारु कल्याणकारी सभाका उपाध्यक्ष प्रभात चौधरी, ‘मटावाँ–बरघर–भलमन्सा दाङका अध्यक्ष चन्द्र प्रसाद चौधरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा बिभिन्न जिल्ला र गाँउबाट सहभागि भएका ‘मटावाँ–बरघर–भलमन्साहरुलाई ४ समुहमा बिभाजन गरिएको थियो ।
प्रथाजनीत कानुन, अन्तराष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीतिका बारेमा प्राध्यापक डाक्टर कृष्ण भट्टचन, थारु संस्कार र संस्कृति संरक्षणका बिषयमा चुर्णबहादुर चौधरी, थारु समुदाय र आर्थिक बिकासका बारेमा प्रतिनिधि सभासदस्य सुरेन्द्र चौधरी र बाल बिबाह न्यूनिकरणका लागि ‘मटावाँ–बरघर–भलमन्साको भूमिका र कानुनी प्राबधान प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुली र पिंकी डाँगीले अभिमुखिकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा थारू समुदायमा प्रचलित प्रथाजनित कानुन बनाउने र लागु गर्ने स्थानीय पालिका, गुर्वा तथा मटावाँहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो । ‘मटावाँ–बरघर–भलमन्साको साधारण सभा सोमबार बेलुकी सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख कृण्ण बहादुर बिष्टले र सहजिकरण बेस संस्थाका महासचिव लोकजंग चौधरी र निर्देशक पिंकी डाँगीले गर्नुभएको थियो ।
मटावाँ–बरघर–भलमन्सा आदिवासी थारूहरूको आदिम प्रथा हो । थारू समुदायमा आदिमकालदेखि नै प्रचलित एकप्रकारको यो ‘अलिखित’ ऐन–कानुन पनि हो ।
आदिवासी थारूहरूको यही प्रथाजनित संस्कार परम्परा, संस्कृति, रीतिरिवाज, परम्परागत संरचनालाई संरक्षण र सम्वद्र्धन गर्ने हेतुले मटावाँ–बरघर–भलमन्सा संघ विधिवत् रूपमा २०८१ माघ २० गते जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भइसकेको छ । यसको केन्द्रीय कार्यालय दंगीशरण गाउँपालिका वार्ड नं ३ चखौरामा रहेको रहेको छ।
थारू जातिमा रहेको मटावाँ–बरघर–भलमन्सा प्रथा आदिम कालदेखि एक परम्परागत तथा संस्थागत रुपमा चलिआएको एक प्रथा हो। यो प्रथालाई जिल्ला र ठाँउ अनुसार मटावाँ–भलमन्सा–बरघर जस्ता फरक नामले उच्चारण वा भन्ने गरेपनि नामको अर्थ एउटै हो जुन थारू समुदायले अविछिन्न रुपमा अवलम्बन गर्दै आएको छ। यो प्रथालाई थारू समुदायले सदियौं देखि एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो परम्परा, रीतिरिवाज, जीवनशैली, संस्कार संस्कृतिलाई संरक्षण र पुस्तान्तरण गर्दै आइरहेको छ।
यो प्रथा विशेषगरी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लाहरूमा प्रचलनमा रहेको छ । विशेषगरी थारू समुदायले मनाउने माघ पर्व थारूहरुको नयाँ बर्षको रुपमा समेत मनाउने गरिन्छ। सोहि पर्वको भेलामा हरेक गाउँ–गाउँमा प्रत्येक वर्ष छलफल र सर्वसहमतिको आधारमा प्रजातान्त्रिक अभ्यासबाट चुनिने ब्यक्ति नै मटावाँ–बरघर–भलमन्सा हो। जसले गाउँको अगुवाको रुपमा बर्षभरि नै कार्य गर्दछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *