९ माघ
लुम्बिनी प्रदेशका विद्यालय तहमा विभिन्न प्रकारका अपांगता भएका छात्रा चार सय ७५ र छात्र छ सय ४२ गरी एक हजार एक सय १७ जना विद्यार्थी छन् । यी मध्ये शारीरिक रुपमा अपांगता भएका छात्रा तीन सय ६८ र छात्र पाँच सय १६ गरी आठ सय ८४ जना छन् । बौद्धिक अपांगतातर्फ छात्रा २७ र छात्र ३५ गरी ६२ जना छन् । बहिरा विद्यार्थी छात्रा २९ र छात्र ३९ गरी ६८ जना, सुन्न गाह्रो हुने विद्यार्थी छात्रा सात र छात्र छजना गरी १३ जना, दृष्टिविहीन छात्रा २३ र छात्र १८ गरी ४१ जना छन् । दृष्टि कमजोर भएका छात्रा छ र छात्र १२ गरी १८ जना विद्यार्थी छन् । लुम्बिनी प्रदेशभर छ हजार ४९ विद्यालय छन् । जहाँ हाल प्रारम्भिक वालविकास देखि १२ कक्षासम्म १५ लाख ६० हजार आठ सय ११ विद्यार्थी अध्ययनरत रहेको शिक्षा निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।
घरबाट विद्यालय आउने जाने संरचना अपांगमैत्री छैनन् । प्रशासनिक र शिक्षक कार्यालय माथिल्लो तलामा रहेकाले विद्यार्थी जान पनि कठिन छ । ह्वीलचियर कक्षाकोठामा लैजान सहज पनि छैन । त्यतिमात्रै होइन कक्षा एकदेखि १२ सम्म पढाउनको लागि शिक्षकको अभाव रहेको सांकेतिक भाषा शिक्षक स्मृति योगीले बताउनुभयो । ‘कक्षा एकदेखि १२ सम्मको विद्यालयमा जम्मा चार जना शिक्षक हुँदा कसरी पढाउँछौं होला’– उहाँले भन्नुभयो– ‘सांकेतिक भाषाको थप तालिम पनि माग गरेका छौं । तर अझै उपलब्ध हुन सकेको छैन । यसमा प्रदेश सरकारले कसरी सहयोग गर्न सक्छ ।’
सशक्तिकरणमा ६० लाख
लुम्बिनी प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुको लागि सशक्तिकरण कार्यक्रम गर्न ६० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी सशक्तिकरणका लागि उक्त बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्यालले जानकारी दिनुभयो । अपांगता अधिकारसम्बन्धी सशक्तिकरण तथा अभिमुखीकरण कार्यक्रम गर्न १२ लाख, दोभाषे सम्बन्धी तालिम सञ्चालनका लागि राष्ट्रिय अपांग महासंघ लुम्विनी प्रदेशलाई छ लाख अनुदान, अपांगता सहायता सामग्री निःशुल्क वितरण कार्यक्रमका लागि २० लाख, अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना केन्द्र सहयोगको लागि ३६ लाख विनियोजन भएको छ ।
सरकारले अपांगता भएका व्यक्तिको संरक्षणका लागि रुपन्देहीमा प्रदेशस्तरीय सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्राम र अपांगता नागरिक ग्राम निर्माणका लागि जग्गा प्राप्त गरी कार्य शुरु गर्ने विषय नीति तथा कार्यक्रममा समेटेको थियो । अपांगता भएका व्यक्तिको संरक्षणका लागि स्थापित पुनस्र्थापना केन्द्र सुदृढ गरी सञ्चालनमा सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखि नै विशेष शिक्षा सञ्चालित विद्यालयलाई सहयोग गर्दै आएको छ । २३ विद्यालयबाट शुरु भएको कार्यक्रम अहिलेसम्म २५ विद्यालयमा निरन्तररुपमा उपलब्ध गराउँदै आएको शिक्षा निर्देशनालयका अधिकृत माधवप्रसाद पोख्रेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा छात्रवृत्ति सम्बन्धी कार्यक्रमको निरन्तर रहेको, विशेष शिक्षा कार्यक्रम अन्तर्गत अटिज्म विद्यालय समेतलाई अनुदान उपलब्ध गराउन ८० लाख बजेट छ ।
