दाङ,आषाढ ११
दाङका दशवटै स्थानीय तहले मंगलबार नगर तथा गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित नौ अर्ब ३५ करोड १३ लाख बढी बजेट प्रस्ताव गरेका छन ।
तुलसीपुर र घोराही उपमहानगरपालिका , लमही नगरपालिका र ७ वटा गाउँपालिकाका उपप्रमुख, उपाध्यक्षहरुले नगर तथा गाउँसभामा अनुमानित बजेट प्रस्ताव पेश गरेको हुन ।
बजेट असन्तुलित आएको भन्दै गाउँसभा सदस्यहरुले विरोध जनाएपछि बबईमा भने विवाद उत्पन्न भएको छ । दाङमा सबैभन्दा धेरै घोराहीले दुई अर्ब २९ करोड २७ लाख,तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब छ करोड ६६ लाख, लमही नगरपालिकाले ८८ करोड ३१ लाख, गढवाले ७८ करोड ७५ लाख, राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख, बंगलाचुलीले ६२ करोड ६६ लाख, राजपुरले ६० करोड २४ लाख, बबईले ५१ करोड ५४ लाख र शान्तिनगरले ४८ करोड ९८ लाख बजेट प्रस्ताव गरेका हुन् । सबैभन्दा कम दंगीशरण गाउँपालिकाले जम्मा ४५ करोड ११ लाखको बजेट सभामा पेश गरेको छ ।
सबै स्थानीय तहले संघ र प्रदेशको अनुदानलाई पालिकाको प्रमुख आर्थिक स्रोतका रुपमा लिएका छन् ।
प्रस्ताबित बजेटमा स्थानीय तहले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाईलाई नै प्राथमिकतामा राखेका छन् । सीप प्रवद्र्धन, उद्यम विकास, सशक्तिकरणलाई समावेश गरेका स्थानीय तहरुले आन्तरिक स्रोतबाट पालिका सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।
जसमा घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको छ । राजश्व बाँडफाँड समितिका संयोजक तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले नगरसभाको १७ औं अधिवेशनमा बजेट प्रस्ताव गर्नुभएको हो ।
कुल बजेटमध्ये एक अर्व २८ करोड ७५ लाख ९५ हजार अर्थात् ५६।१६ प्रतिशत चालु खर्च र एक अर्ब ५१ लाख पाँच हजार अर्थात् ४३.८४ प्रतिशत पूँजीगत खर्च विनियोजन गरिएको जानकारी दिनुभयो । घोराहीले कृषि, स्वास्थ्य, वातावरण, शिक्षा, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले १७ औं नगरसभामार्फत् आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई अर्ब छ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँको बजेट ल्याएको छ । जसमा पूँजीगत खर्चभन्दा चालु खर्च दोब्बरबढी निर्धारण गरिएको छ । बजेटमा शिक्षा, युवा तथा खेलकूदका लागि ६० करोड २८ लाख बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको २९.१७ प्रतिशत हो । उक्त बजेट अन्तर्गत द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रमका लागि सहिद स्मृति विद्यालयलाई चार करोड ६८ लाख, सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि एक करोड १३ लाख, सार्वजनिक विद्यालयमा विद्यार्थीका लागि पाठ्यपुस्तक अनुदानका लागि एक करोड ४८ लाख, गुरुयोजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयका भौतिक निर्माण अनुदानका लागि एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
लमही नगरपालिकाले १७ औं नगरसभामा ८८ करोड ३१ लाख सात हजार नौ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख लक्ष्मी योगीले प्रशासनिकतर्फ १६ करोड ५५ लाख, पूर्वाधारतर्फ सात करोड, शिक्षातर्फ पाँच करोड तीन लाख ९३ हजार रुपैयाँसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।
समपुरकमा दुई करोड ३७ लाख छ हजार नौ सय २९ रुपैयाँ, अधुरा आयोजना (क्रमागत आयोजना) का लागि दुई करोड ३० लाख, लमही अस्पतालका लागि एक करोड ५० हजार, विपत् व्यवस्थापन कोषका लागि एक करोड, विपत् व्यवस्थापन शाखाका लागि २५ लाख ६० हजार, जनतासँग मेयर कार्यक्रमका लागि एक करोड, जनतासँग उपमेयर कार्यक्रमका लागि एक करोड, पशु सेवा शाखाका लागि ५७ लाख, कृषि शाखाका लागि ५४ लाख, स्वास्थ्य शाखाका लागि ६२ लाख ५० हजार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका लागि ५० लाख, सुशासन तथा संस्थागत विकासका लागि ४७ लाख बजेट विनियोजन गरिएको छ ।
शान्तिनगर गाउँपालिकाले मंगलबार नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको छ । पालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट पनि सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले आगामी आर्थिक वर्षका लागि ४८ करोड ९८ लाख ५३ हजार तीन सय ३७ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो । जसमा चालु खर्चतर्फ कूल बजेटको ६६।२२ प्रतिशत र पूँजीगत खर्चतर्फ ३३.७८ प्रतिशत बजेट विनियोजन गरिएको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ भन्दा करिब साढे चार करोड रुपैयाँबढी बजेट ल्याएको छ ।
दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष पिमा वली (खड्का)ले उक्त बजेट गाउँसभामा प्रस्ताव गर्नुभएको हो ।
कुल बजेटमध्ये संघीय सरकारबाट बित्तीय समानीकरणतर्फ नौ करोड ५० लाख, सशर्त अनुदानतर्फ १७ करोड २६ लाख, राजस्व बाँडफाँडबाट नौ करोड ४० लाख ५३ हजार तीन सय ८३, समपुरक अनुदानतर्फ ९७ लाख र विशेष अनुदान ६९ लाख गरी जम्मा ३७ करोड ८२ लाख ५३ हजार तीन सय ८३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट बित्तीय समानीकरण अनुदान अन्तर्गत ६३ लाख ३८ हजार, सशर्त अनुदान अन्तर्गत ७५ लाख, विशेष अनुदान १८ लाख, समपूरक अनुदान ७५ लाख र राजस्व बाँडफाँड ७८ लाख ५९ हजार एक सय गरी जम्मा तीन करोड नौ लाख ९७ हजार एक सय रुपैयाँको अनुमान गरिएको छ ।
आन्तरिक राजस्वतर्फ ८० लाख ५० हजार चार सय, घरजग्गा रजिष्ट्रेसन शुल्क ४० लाख र नदीजन्य पदार्थ बिक्री वितरणबाट ३५ लाख गरी जम्मा एक करोड ५५ लाख ५० हजार चार सय रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । दंगीशरणमा अनुमानित बैंक मौज्दात तथा बचत दुई करोड ६३ लाख ४० हजार एक सय १७ रुपैयाँ हुने अनुमान गरिएको छ ।
राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलबार पालिकाका उपाध्यक्ष कमलापती चौधरीले उक्त बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो ।
दोस्रो गाउँसभाको सातौं अधिवेशनबाट चालु आर्थिक वर्षभन्दा यो वर्ष पाँच करोड बजेट घटेर आएको हो । चालु आर्थिक वर्ष ०८१/०८२ मा ६८ करोड ५९ लाख ७४ हजार बिनियोजन गरिएको थियो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ६१ लाख ३१ हजार पाँच सय २४ रुपैयाँ बराबरको बजेट ल्याइएको हो । समृद्ध राप्ती, सुखी र खुशी राप्तीवासी भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमा वित्तीय हस्तान्तरणबाट प्राप्त हुने अनुदान ४२ करोड ९३ लाख ७५ हजार र राजश्व तर्फ २० करोड ६७ लाख ५६ हजार पाँच सय २४ अनुमान गरिएको छ ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले ६० करोड २४ लाख ६५ हजार आठसय चार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटमध्ये चालुतर्फ ४१ करोड ११ लाख ६३ हजार आठ सय चार ९६८ प्रतिशत० र पूँजीगततर्फ १९ करोड १३ लाख दुई हजार (३२ प्रतिशत) बिनियोजन भएको छ । गाउँपालिकाको आन्तरिक राजश्वबाट एक करोड ७७ लाख १७ हजार र चालु आ।ब।मा खर्च नभई बाँकी रहने अनुमानित रकमबाट चार करोड ३३ लाख ६४ हजार गरी जम्मा छ करोड १० लाख ८१ हजार आन्तरिक स्रोतबाट ब्यहोरिने उल्लेख छ ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले १७ औं अधिवेशनको तेस्रो बैठकमा ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ नयाँ बजेट प्रस्तुत गरिएको हो । चालु खर्चमा ५१ करोड ८३ लाख २२ हजार र पुँजीगत खर्चतर्फ २६ करोड ९२ लाख ७२ हजार गरी जम्मा ७८ करोड ७५ लाख ९४ हजारको बजेट प्रस्तुत गरिएको छ । संघीय सरकार वित्तीय समानीकरण अनुदान १३ करोड ५१ लाख, संघीय सरकार सशर्त अनुदान २६ करोड ४६ लाख, संघीय सरकार समपूरक अनुदान एक करोड पाँच लाख, संघीय सरकार विशेष अनुदान पूँजीगत खर्च ५७ लाख, संघीय सरकार राजस्व बाँडफाँड १५ करोड ७७ लाखलाई स्रोतको रुपमा प्रस्तुत गरिएको छ ।
बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड ६६ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । मंगलबार दोस्रो गाउँसभाको सातौं अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट प्रस्ताव गरेको हो । गाउँपालिकाले चालुतर्फ ३९ करोड २६ लाख रुपैयाँ अर्थात् ६२।६५ र पूँजीगततर्फ २३ करोड ४० लाख रुपैयाँ अर्थात् ३७.३५ प्रतिशत छुट्याइएको छ । गाउँपालिकाले अनुमानित बजेटका लागि नेपाल सरकारबाट प्राप्त हुने अनुदान ४२ करोड नौ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड चार लाख, प्रदेश सरकारको अनुदानबाट दुई करोड ५१ लाख र राजस्व बाँडफाँडबाट एक करोड तीन लाख रुपैयाँ साथै आन्तरिक राजस्वबाट एक करोड ५० लाख र गत वर्षको मौज्दातबाट एक करोड ५६ लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ ।
बबई गाउँपालिकामा उपाध्यक्ष बमकुमारी खड्काले सभामा ५१ करोड ५४ लाख २८ हजार ७६ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । यद्यपि बजेट सन्तुलित नभएको भन्दै सभामै विवाद भएपछि गाउँसभा नै स्थगित भएको छ । बबई गाउँपालिकाका प्रवक्ता तिलकराम भण्डारीका अनुसार बजेटमाथि व्यापक छलफल गरेर मात्रै पूँजीगत र चालु खर्च निधारण गर्नुपर्ने आवाज उठेपछि सभा अगाडि बढ्न नसकेको र सभाले बजेटका विषयमा व्यापक छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने निष्कर्षसहित असार २९ गतेका लागि अर्को सभा तोकेको छ । उक्त सभामा जाँदा अहिलेको बजेटमा धेरै कुराहरु संशोधन हुनुपर्ने सभाका सदस्यहरुको माग रहेको छ ।

