प्रबृत्ति शाह
तुलसीपुर,१ असार
अपाङगता भएका ब्यक्तिहरुलाई तुलसिपुर उपमहानगरपालिका वडा नं.१४ मा बाख्रा वितरण गरिएको छ ।
अपाङ्ग सेवा संघ दाङको समन्वय तथा हात्ती ढुङ्गा अपाङ्गता समावेशी स्वाबलम्बन समुह तुलसीपुर १४ को सहआयोजना र तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ को आयोजनामा आ.व.२०८१÷०८२ को लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा सहयोग पुरयाउने उद्देश्यका साथ ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई १÷१ वटा बाख्रा प्रदान गरिएको थियो ।
प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष शंकरकुमार खड्काले अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरण आजको मुख्य आवस्यकता भएको कुरा दर्शाउँदै वडाले उपलब्ध गराएका बाख्राले पनि व्यक्तिको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउनेमा जोड दिनुभयो ।
कार्यक्रमा बोल्दै अर्का अतिथि वडा सचिव आशाराम चौधरीले अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रवाहमा प्राथमिकता दिने गरेको साथै वडाका योजना तथा बजेटमा पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने कुरा बताउनुभयो ।
अपाङ्ग सेवा संघ दाङका अध्यक्ष तथा समावेशी जीविको पार्जन परियोजनाका आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगीले अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि सबै भन्दा पहिला राज्य,स्थानिय सरकार त्यसमा पनि वडा गम्भिर हुनुपर्ने सुझाब दिनुभयो ।
समुहका सदस्य रमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवी कालुप्रसाद चौधरी,टोल अध्यक्ष पदम बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजिकरण स्वाबलम्बन समुहका सचिव मिना चौधरीले गर्नुभएको थियो ।

