तुलसीपुर, २९ जेष्ठ
सुनचाँदी व्यवसायी संघले आज बिहीबार पसल बन्द गरि आन्दोलनमा उत्रेको छ । संघले सरकारले आर्थिक बर्ष २०८२।०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासायी बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत बुधबार प्रदर्शन गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्यमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
संयुक्त रूपमा गरिएको चरणबद्ध आन्दोलनको कार्यक्रमका बारेमा जानकारी दिन घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरिएको तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो ।
घोषित कार्यक्रम अन्तरगत जेठ २९ र ३० गतेको दुई दिन व्यवसाय (पसल) बन्द गरिने छ ।
सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनी सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाई व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सिर्जना गरिएको जनाइएको छ ।
अहिले पनि छिमेकी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरूपमा नहुँदा नेपाली उपभोक्ताहरू सिमानाका बजारहरूमा सुनका गरगहना किन्न जाने अवस्था रहेको उल्लेख गर्दै बजेट वक्तव्यमार्फत लिएको नीति कार्यान्वयन भएमा व्यवसायमा नकारात्मक असर पर्ने जनाइएको छ ।

