तुलसीपुर,३० जेठ ।
तुलसीपुर उपमहानगर पालिकाले मस्यौदा गरेको संचार क्षेत्रलाई लक्षित गरेर बनाइको कार्यबिधीको मस्यौदामाथीको छलफल शुक्रबार तुलसीपुरमा गरिएको छ |
उपमहानगरपालिकाको सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षतामा भएको छलफलमा कार्यविधि माथि दफावार छलफल भएको छ |
छलफलमा सुझाब दिनुहुदै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले संचार माध्यमको दीगोपनाका लागि राज्यको निश्चित भूमिका रहने बताउनुभयो | उहाले लोकतान्त्रिक सरकारका प्राथमिक दायित्व मध्य संचार क्षेत्रको प्रबर्धन पनि एक भएको बताउनु भयो ।
सरकारले संचारक्षेत्रको पनि अभिभावकत्व लिनु पर्दछ, तर त्यसो गर्दा सम्पादकीय स्वतन्त्रतामाथी हस्तक्षेप गर्ने चाहना भने पटक्कै राख्न मिल्दैन’ पोख्रेलले बताउनुभयो |
जनहितका सूचनाहरु मार्फत स्थानीय सरकारले नागरिकलाई सचेत र लाभान्वित गर्नुपर्ने चर्चा गर्नुभयो | उहाले त्यस्ता सूचनाहरु संचारमाध्यममा उपलब्ध गराएर ति माध्यमको दीगोपनाका लागि योगदान पुरयाउन पर्नेमा जोड दिनुभयो ।
‘यसरी दिएको सूचना तथा विज्ञापनलाई अनुदान भन्न मिल्दैन, यो त स्थानीय संचारमाध्यमको अधिकारहो’ पोख्रेलले भन्नुभयो |त्यसका लागि कानुन बनाएर सबै सञ्चारमाध्यमलाई न्यायोचित रुपमा सूचना तथा बिज्ञापन उपलब्ध गराउनु पर्ने जोड दिनुभयो | पोख्रेलले उपमहानगर पालिकाले यस सम्बन्धि कार्यबिधी बनाउन लागेकोमा धन्यबाद दिनुभयो |
छलफलमा उठेका कुराहरुको जवाफ दिदै नगरपालिकाका कार्यकारी अधिकृति केशब पार्धेले संचारमाध्यमको पक्षमा हुने र कार्यान्वयन गर्न सहज हुने गरी मस्यौदालाई अन्तिम रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो |
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सरोकारवालाहरुको धारणा समेटेर सूचना र विज्ञापनको न्यायोचित वितरणलाई सुनिश्चित गर्ने गरी मस्यौदालाई अन्तिम रुप दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस युनियनका अध्यक्ष नारायण खड्का, प्रेस चौतारीका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टरका सचिब दीपक बोहोरा, राकेश बस्नेत , प्रकाश केसी लगायत मस्यौदाका बिबिध पक्षमाथी धारणा राख्नुभएको थियो |
मस्यौदा समितिका सदस्य सचिव बाबुराम न्यौपानेले सहजीकरण गरेको छलफलमा समितिका बिज्ञ सदस्य सुशील बस्नेत र सदस्य नारायणी रजौरेले मस्यौदाका बारेमा जानकारी दिदै सरोकारवालाको सुझाव समेटेर मात्र अन्तिम रुप दिइने प्रतिबद्धता जनाउनुभयो ।

