३० आश्विन
आज मंगलबार बिहानदेखि बदली भएको छ । बदलीका कारण चिसो महसुस भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको हो । पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ ।
आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।
यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । गएराति पनि दाङ लगायत देशका बिभिन्न स्थानमा पानी परेको थियो ।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
