बालबन्दीलाई बाँकेको नौवस्तामा राखिदै

By Sushil Basnet ३० आश्विन २०८०, मंगलवार ०६:३६ ३० आश्विन २०८०, मंगलवार ०६:३६ ३० आश्विन २०८०, मंगलवार ०६:३६

३० असोज

क्षेत्रीय कारागारमा १८ वर्षमाथिका बालबन्दीलाई राख्न शुरु गरिएको छ ।
अपराध गरेर बाल सुधार गृहमा पुगेका १८ वर्षमाथिका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि सरकारले उनीहरुलाई नौवस्ता स्थित क्षेत्रीय कारागारमा राख्न शुरु गरेको हो ।
१८ वर्ष भन्दामुनिका बालक तथा किशोरलाई बाल सुधार गृहमा राख्ने भनिए पनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राखिएको थियो ।
बाँके, ललितपुर लगायत देशका विभिन्न ठाउँमा बढी उमेर भएका बालबन्दीले ‘आतंक’ मच्चाएपछि सरकारले उनीहरुलाई छुट्टै ठाउँमा राख्न शुरु गरेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिएको बताउनुभयो ।
चारवटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको छ । अरु सञ्चालन हुन सकेको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा राख्न देशका विभिन्न ठाउँबाट बालबन्दी ल्याइरहेको जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार ‘बाल सुधार गृह सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नासुस्तरको कर्मचारी खटाएको छ ।’
बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भइसकेका छन् । नेपाल प्रहरीले प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा ३० जना प्रहरीलाई नौवस्तामा राखेको छ ।
बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । कारागारबाट चारजना भागेकोमा तीनजना अझै पक्राउ परेका छैनन् । दुई सय ५४ जना बालबन्दी रहेकोमा १८ वर्षमाथिका एक सय ६५ जना छन् । १८ वर्षमाथिकालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी भएको छ ।
नौ विगाहमा रहेको नौवस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको संख्यबढी भएपछि सरकारले नौवस्तामा क्षेत्रीय कारागार बनाएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *