तुलसीपुर,१४ मंसिर

तुलसीपुरमा खानेपानी आपूर्तिका बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउने काम शुरु गरिएको छ । बुधबारदेखि पाइप विस्तार शुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार शुरु गरिएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्यांकी र तत्कालीन अञ्चल प्रहरी कार्यालय नजिकको ट्यांकीमा पानी ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्यांकीमा पानी वितरण हुने तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका का.वा. अध्यक्ष सीताराम शर्माले बताउनुभयो ।

पाइप विस्तार कार्यको तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले शिलान्यास गर्नुभयो । ट्यांकी निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाइएको हो । सल्यानरोडस्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्यांकी र बबई नदीमा ट्यांकी निर्माण भइसकेको छ भने मोतीपुर, कबर्डहल र एयरपोर्टको टयांकी निर्माण भइरहेको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत पूरा भएको छ ।

५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँको लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अघि बढेको हो । सरकारले ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ लाग्नेछ । उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण लिएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीनवटा सम्पवेल बन्नेछ । त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान्ट बन्नेछ । जहाँ ¥यापिड स्यान्ड फिल्टर दुईवटा शीतलपुरमा र मल्टिग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टिग्रेड फिल्टर जहाँ ट्यांकी निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् । त्यस्तै शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टंकी सन्त निरंकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटी तीन सय घन मिटर बन्नेछ ।

त्यस्तै चारवटा ओभरहेड ट्यांकी निर्माण हुनेछन् । शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर, मोतीपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० घनमिटर ओभरहेड ट्यांकी पनि निर्माण हुनेछन् । दुईवटा अन्डर ग्राउन्ड ट्यांकी निर्माण हुनेछन् । डुम्रीगाउँमा छ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड ट्यांकी निर्माण हुनेछन् । त्यस्तै प्रसारण पाइपलाइन २८ दशमलव तीन सय १५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप एक सय २५ दशमलव सात सय ५२ किलोमिटर हुनेछ । साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् । बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०÷६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै छ वटा डिपबोरिङ निर्माण हुनेछन् ।

गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरी विभिन्न छ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ । तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धारा रहेका छन् । तर बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन् । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठवटा ग्राभेटी मुहान छन् । त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रिगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *