फाल्गुन ५
भारतको प्रयागराजमा भएको कुम्भमेलाबाट घर फर्केका तीन नेपाली नागरिकको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
सोमबार बिहान रुपन्देहीको देवदह नगरपालिका ९ निवासी ४५ वर्षीय गणेश खनाल र उहाकी श्रीमती ३५ वर्षीय दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको सूचना प्राप्त भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा देवदह ९, भलुहीकी कोपिला पोखरेल, उहाका छोरा शुभम, आविष्कार पराजुली र यमकलादेवी मगर हुनुहुन्छ । दुर्घटनामा सवारी चालक भारतीय नागरिक रितेश दुबे पनि घाइते हुनुभएको छ ।
एसपी राठौरका अनुसार उहाहरु प्रयागराज कुम्भमेलामा स्नान गरेर फर्किंदै हुनुहुन्थ्यो । सोमबार बिहान भारतको उत्तरप्रदेशस्थित बाराणासी–आजमगढ राजमार्गस्थित आजमगढ भन्ने स्थानमा सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएको हो । ‘घटनाबारे हामीले भारतीय पक्षसँग समन्वय गरी थप जानकारी लिने प्रयास गरिरहे राठौरले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भारतको कुम्भमेलाबाट फर्किंदा ३ नेपालीको दुर्घटनामा परी मृत्यु

