सुशील बस्नेत
तुलसीपुर,३० मंसीर
प्रत्येक बर्ष नोभेम्बर २५ देखि १६ दिन सम्म मनाईने महिला हिंसा बिरुद्धको दिवस तुलसीपुरमा मनाउने तयारी गरिएको छ । आज शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको महिला,वालवालिका तथा सामाजिक बिकास शाखाले आयोजना गरेको बैठकमा २५ नोभेम्वर अर्थात मंसिर १० गतदेखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध अभियान गरिने शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । १६ दिवसीय अभियान अन्तर्गतमा नोभेम्बर २५ – महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस,नोभेम्बर २९ – अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस,डिसेम्बर १ – विश्व एड्स दिवस,डिसेम्बर ५ – आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र डिसेम्बर १० – मानव अधिकार दिवसलाई बिबिध कार्यक्रम गरि मनाउने बैठकले निर्णय गरेको छ । बैठकमा सम्बोधन गर्नुहुदै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले गाँउ केन्द्रित कार्यक्रम गर्न सुझाव दिनुभयो । त्यसमा शिक्षामा सबै वर्ग र समुदायको पँहुच हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बालअधिकारकर्मी नवराज लामिछाने, संवाद समुहका बरिष्ठ सहजकर्ता एवम पत्रकार अधिकारकर्मी सुशील बस्नेत, अधिकारकर्मी सुष्मा गिरी,तुलसीपुर शान्ति महिला नमुना संसदका सभामुख सीमा न्यौपाने, गोमा वली चौधरी,महिला सहकारी संस्थाका कृष्णा चौधरी,लक्ष्मि राना,सृजना तिमिल्सेना,कल्पाना बिष्ठ,प्रसंसा केसी,प्रहरी निरीक्षक केवि खत्री, स्वास्थ्यकर्मी ओमप्रकास न्यौपाने, जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी,बेसका पिताम्वर चौधरी, अधिबक्ता सुष्मा केसी, शुभम देवकोटा,पत्रकार बालाराम खड्का र जितसागर जिएम,उमा भण्डारी लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
सन् १९९१मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो ।
विश्वका १८७ देशहरूले यो अभियान मनाउँदै आएका छन् । महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५)मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०)का दिन यस १६ दिने अभियान समापन हुन्छ ।