दाङ,१३ भदौ
साउनसम्म एक सय रुपैयाँ प्रतिकिलो चिनी रहेकोमा अहिले बजारमा एकसय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
गल्ला तथा किराना व्यवसायी समितिले दिएको जानकारी अनुसार साउन २२ गते पछाडिको खुद्रा मूल्यमा जिरा मन्सुली चामलमा प्रतिकिलो १० रुपैयाँ बढेर एक सय, स्टिम जिरा चामलमा १५ रुपैयाँ बढेर किलोको एक सय १०, मल्का मसुरो दालमा १० रुपैयाँ बढेर प्रतिकिलो एक सय ६०, ग्रेडिङ अरहर दालमा प्रतिकेजी २० रुपैयाँ बढेर तीन सय २०, नन ग्रेडिङ अरहर दालमा प्रतिकेजी ३० रुपैयाँ बढेर दुई सय ९०, ग्रेडिङ मास दालमा १० रुपैयाँ बढेर प्रतिकेजी दुई सय २० रुपैयाँ पुगेको छ ।
मैदा किलोमा पाँच रुपैयाँ बढेर ७० पुगेकोमा अझै पाँच रुपैयाँ किलोमा मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । चना गेडाको मूल्य प्रतिकेजी २० रुपैयाँ बढेर एक सय ७० पुगेको छ ।
चना गेडाको मूल्य पनि उकालो लाग्ने क्रममा रहेकोले प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पुग्न सक्ने गल्ला तथा किराना व्यवसायी समितिले जनाएको छ । त्यस्तै आटामा पाँच रुपैयाँ बढेर प्रतिकेजी ७० पुगेकोमा अझै पाँच रुपैयाँ बढ्न सक्ने, चना दाल पनि किलोमा २५ रुपैयाँ बढेर एक सय ७० पुगेकोमा अझै १० रुपैयाँसम्म मूल्य बढ्न सक्ने आँकलन गरिएको गल्ला तथा किराना व्यवसायी समितिले जनाएको छ ।
अहिले बजारमा सुजीको मूल्य पनि प्रतिकिलो १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ । त्यसैगरी चिउरा सुपरफाइन कुरुमकुरुममा पाँच रुपैयाँ बढेर प्रतिकिलो ९५, हरियो केराउमा पाँच रुपैयाँ बढेर प्रतिकिलो एक सय ५०, राजमा गेडामा १० रुपैयाँ बढेर प्रतिकेजी एक सय ८०, रातो सिमी दालमा २० रुपैयाँ बढेर प्रतिकेजी एक सय ५०, मुङ दालमा १० रुपैयाँ बढेर प्रतिकेजी दुई सय, नरिवलमा ५० रुपैयाँ बढेर प्रतिकिलो चार सय ५०, केराउ दालमा १० रुपैयाँ बढेर प्रतिकिलो एक सय ५० र क्याप्सुल राजमामा ३० रुपैयाँ बढेर प्रतिकिलो दुई सय रुपैयाँ पुगेको छ । गल्ला तथा किराना व्यवसायी समिति दाङका अध्यक्ष विनोदप्रसाद पाण्डेले बजारमा तेलको भाउ भने नबढेको जानकारी दिनुभयो । उहाँले खरिदको भ्याट बिल हेरेर चारदेखि १० प्रतिशतसम्म मुनाफा राखी खुद्रा दररेट सार्वजनिक गर्ने गरेको बताउनुभयो ।
बजारमा थोक मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढ्ने गरेको छ । मूल्य बृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल बृद्धि हुनुलाई देखाएका छन् । नेपाल खाद्य किराना तथा थोक व्यापार संघले नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीवापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको जनाउँदै आएको छ । नेपालमा चामल, दलहन चिनी, आटालगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर पर्ने गरेको संघले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *