बुटवल , ०९ साउन
मुख्यमन्त्री बन्न नदिएको भन्दै असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ ।
मुख्यमन्त्री नियुक्तिमा हस्तक्षेप गरेपछि गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाउनुभएको थियो । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताउनुभयो ।
संसदीय दलको नेता नै गएपछि प्रमुख सचेतक र सचेतक पद निष्क्रिय हुने हो । यसमा हामीले चाहिँ राजीनामा दिनुपर्ने छैन, चौधरीले भन्नुभयो।’
गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिनुभएको हो । एमालेले संसदीय दलका नेता गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई बनाएको छ । आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।