राप्ति उपत्यका, ९ साउन
मन्त्रीहरु छनौट प्रक्रियामा नेपाली कांग्रेस प्रदेश समितिलाई पुर्ण रुपमा वेवास्ता गरिएको भन्दै सच्चाउन केन्द्रीय समितिलाई ध्यानाकर्षण गरिएकोछ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएकोछ, `नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिलाई पुर्णतया बेवास्ता गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।´
कांग्रेस प्रदेश समितिले संघियता एवं समावेशिताको मर्म र पार्टीको बिधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७(ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई केन्द्रीय समितिले कुल्चिएको बताएको छ ।
नेपाली कांग्रेसका आम कार्यकर्ताको भावना विपरित केन्द्रीय समितिले केन्द्रीकृत शासन अबलम्बन गरि निरङ्कुश कार्यशैली अपनाएकोले पार्टीको प्रदेश संरचना र जिल्ला संरचना समेत कमजोर हुने लुम्बिनी प्रदेश समितिको निश्कर्ष छ ।
प्रदेश सरकार गठनका सन्दर्भमा केन्द्रीय समितिले बिधान बिपरित एकलौटी गरेको निर्णयलाई पुनर्बिचार नगरे असन्तुष्ट जिल्ला कार्यसमितिहरु र नेताहरु बिच बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने प्रदेश समितिले उल्लेख गरेकोछ ।