घोराही,४ साउन
दाङ जिल्ला अदालतलमा १८ महिना नाघेका मुद्दा शून्य भएका छन् । फरक मुद्दा व्यवस्थापन प्रणाली लागु भएपछि दाङ जिल्ला अदालतले १८ महिना नाघेका सबै मुद्दा फछ्र्यौट गरेको हो । देशका पाँच जिल्लामा लागु भएको यस प्रणालीअन्तर्गत दाङ जिल्ला अदालतले लक्ष हासिल गरेर नमूना काम गरेको हो । जिल्ला अदालतले आर्थिक वर्ष २०८०÷८१ मा कुल तीन हजार छ सय १० वटा मुद्दा फछ्र्यौट गरेको छ । फछ्र्यौट मुद्दामध्ये एक हजार तीन सय ८३ मुद्दामा दावी पुगेको, पाँच सय ९५ मुद्दामा दावी नपुगेको, तीन सय चार मुद्दामा आंशिक दाबी पुगेको, ३९ मुद्दा मुलतवीमा राखिएको र एक सय ५७ मुद्दा डिसमिस भएको जिल्ला अदालतले जनाएको छ ।
यसैगरी तीन सय ७३ मुद्दा फिर्ता भएका छन् भने छ सय ५९ मुद्दामा मिलापत्र गरिएको छ । यस्तै ५५ मुद्दा खारेज गरिएको छ भने जारी दुई, तामेली आठ, सदर छ, उल्टी तीन र अन्य २६ मुद्दा रहेको अदालतले जनाएको छ । दाङ जिल्ला अदालतलमा सबैभन्दा धेरै जिल्ला न्यायाधीश ताराकुमारी शर्माले सात सय १८ मुद्दा फैसला गर्नु भएको छ । त्यसपछि जिल्ला न्यायाधीश लोकबहादुर हमालले छ सय १७, मनोजकुमार श्रीवास्तवले पाँच सय ११, तेजनारायण पौडेलले चार सय ४६, कुलप्रसाद पाण्डेले चार सय आठ, रामप्रसाद बस्यालले तीन सय नौ, जगतबहादुर पौडेलले तीन सय तीन र कृपासुर कार्कीले दुई सय ९८ मुद्दा फैसला गर्नुभएको छ । पूरै आर्थिक वर्ष जिल्ला अदालतमै रहने न्यायाधीशले धेरै फैसला गर्नुभएको छ ।
दाङमा सम्बन्ध विच्छेदका घटना बढे
दाङ देउखुरी जिल्ला अदालतले आर्थिक वर्ष ०८०÷८१ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जनाएको छ । २०८० साउनदेखि असारसम्म जिल्ला अदालतमा कुल एक हजार दुई सय १५ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । जिल्ला अदालतले यो वर्ष सबैभन्दा धेरै सम्बन्ध विच्छेदकै मुद्दा फछ्र्यौट गरेको छ । कुल एक हजार दुई सय १५ मुद्दा दर्ता भएकोमा नौ सय ७५ सम्बन्ध विच्छेदका मुद्दा फछ्र्यौट गरेको स्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । दुई सय ४० मुद्दा जिम्मेबारी सरेका छन् । बितेको एक वर्षमा जिम्मेवारी सरेकासहित जिल्ला अदालतमा पाँच हजार पाँच सय चार मुद्दा दर्ता भएका थिए । मुद्दा अरु पनि छन् तर सम्बन्ध बिच्छेदका धेरै छन् । ‘लभ म्यारिज गरेर पाँच महिनामै सम्बन्ध विच्छेद गर्न आउने पनि छन् । यहीं कोर्ट म्यारिज गरेर महिनादिनमै यहीं सम्बन्ध विच्छेद गर्न आउने पनि छन्’– जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवले भन्नुभयो । ‘जोडीमा असमझदारी बढ्दा मुद्दा धेरै आएका छन् ।’
दाङमा सम्बन्ध विच्छेदसँगै चेक अनादरका मुद्दा पनि धेरै छन् । दोस्रो नम्वरमा यो वर्ष चेक अनादरका मुद्दा दर्ता भए । कुल छ सय ३० चेक अनादरका मुद्दा दर्ता भएकोमा तीन सय ६५ फछ्र्यौट भए भने दुई सय ६५ मुद्दा जिम्मेवारी सरेका छन् । यसैगरी तेस्रो नम्वरमा अंश मुद्दा छन् । बितेको एक वर्षमा जिल्ला अदालतमा अंशका पाँच सय ९९ मुद्दा दर्ता भए । जसमा तीन सय ४९ फछ्र्यौट भए भने दुई सय ५० बाँकी छन् । त्यसपछि लिखत बदरका मुद्दा छन् । जिल्ला अदालतमा बितेको एक वर्षमा चार सय १९ लिखत बदरका मुद्दा दर्ता भएकोमा दुई सय ८४ फछ्र्यौट भएका छन् भने एक सय ३५ जिम्मेवारी सरेका छन् । यस्तै जालसाज र किर्तेका तीन सय ३७ मुद्दा दर्ता भएकोमा दुई सय पाँच फछ्र्यौट भए भने एक सय ३२ बाँकी छन् ।
यसैगरी लेनदेनका तीन सय ८७ मुद्दामध्ये दुई सय ५६ फछ्र्यौट भएका छन् । जग्गा सम्बन्धी विवादका एक सय २६ मध्ये ६९ फछ्र्यौट भए । यस्तै जबर्जस्तीकरणीका दुई सय २८ दर्ता भएकोमा एक सय ४३ फछ्र्यौट भए । ज्यान सम्बन्धी एक सय २४ मध्ये ७३, लागूऔषधका एक सय पाँचमध्ये ७५, सवारी ज्यान र अंगभंगका ९४ मध्ये ६५, चोरी तथा डाँकाका एक सय ८५ मध्ये एक सय ३१, बहुविवाह, बालविवाहका ६१ मध्ये ४३ र मानव वेचविखन तथा ओसारपसारका पाँचमध्ये चारवटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

