हुलाकी सडक मार्ग निर्माण कार्य तिब्र पार्न शान्ति समाजको अभियान

By Sushil Basnet १६ असार २०८१, शनिबार ०८:२७ १६ असार २०८१, शनिबार ०८:२७ १६ असार २०८१, शनिबार ०८:२७

सुशील बस्नेत
तुलसीपुर,१५ असार

हुलाकी सडकमार्गले शिघ्र पूर्णता पाउनुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय अभियान शुरु गरेको छ ।
शान्ति समाजले पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगर सम्म तराईका बिभिन्न जिल्लामा विकासको अधिकार अहरणीय अधिकार, हुलाकी सडक मार्ग तराई मधेशको जीवन रेखा भन्ने नाराका साथ अभियान सञ्चालन गरेको हो ।
गत पुस २० र २१ गते बिरगन्जमा सम्पन्न मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद् बैठकले राष्ट्रिय सवालको रुपमा हुलाक मार्गको निर्माण कार्य लामो समयसम्म सम्पन्न भएको पहिचान गरि शिघ्र पूर्णता पाउनुपर्ने माग सहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । शान्ति समाज दाङ शाखाले देउखुरी स्थीत राजपुरको हुलाकी मार्ग छेउमा नागरिक संवाद शनिबार आयोजना गरेको छ । समाजका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको नागरिक संवाद कार्यक्रममा राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपति यादवले दाङ र बाँकेको सिमाबर्ती क्षेत्रमा सडक ट्याक समेत खुल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, दुई जिल्लाको सिमाबर्ती क्षेत्रमा राष्ट्रिय वन भएकाले वन ऐनका कारण रुख काट्न नपाईने भएकाले सडक निर्माण हुन नसकेको हो । झण्डै ३० किलो मिटर सडकको ट्याक खुल्न अझै बाँकी छ, यादवले भन्नुभयो । बन ऐन सडक तथा पुर्वाधार निर्माणका लागि बाधक भएको उपाध्यक्ष यादवले भन्नुभयो । तर ठुला ठुला जंगलमा समेत सडक बनेका हुन्छन्, हाम्रो पालिका क्षेत्रमा भने बन्ने सकेन । यसका लागि सबैभन्दा ठुलो कम्जोरी संघिय सरकारकोे हो । ठेकेदारको स्वार्थका कारण बिभिन्न खोलामा पुल निर्माण हुन नसक्नु अर्को समस्या हो , उहाँले भन्नुभयो । राजपुर गाँउपालिका वडा नम्वर ६ सम्मको भुभागमा हुलाकी सडक कालोपत्रे भई सकेको भएपनि त्यो भन्दा उता हुन सकेन,यादवको भनाई छ ।
नागरिक संवादमा सहभागि नागरिकहरुले राजपुर गाँउपालिकाको गम्दीदेखि रातो काश सम्मको ट्याक खोलि कालोपत्रे गर्नुपर्नेमा जोड दिनुभयो । दाङको दक्षिण तर्फको भुभागका लागि वरदान साबीत हुने हुलाकी सडक निर्माणमा राजनीतिक नेतृत्वको पहँुचको कमि, ठेकेदार दलीय पहुँचका कारण लापरर्बाही, मुआब्जाको समस्या, हुलाकी सडकका लागि बजेटको कमि लगायतका समस्या कारण निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो ।
वडा सदस्य तुलसा मल्लले नेताहरुको ईच्छाशक्तिको कमीका कारण हुलाकी सडक खण्ड निर्माणमा ढिलाई भएको बताउनुभयो । नागरिक संवादको सहजिकरण निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो भने केन्द्रले तयार पारेको अवधारण पत्र र कार्यक्रमको औचित्यमा माथि केन्द्रिय सचिव निर्मल नेपालीले गर्नुभएको थियो ।
नेपालको सबैभन्दा पुरानो सडक मार्ग हुलाकी सडक नेपालको भारत सीमा नजिक रहेको बस्तीहरुमा हुलाकीले छोटो दुरी तय गरी एक ठाँउमा चिठ्ठी पुरयाउने बाटो नै हुलाकी सडक रुपमा स्थापित भएको थियो । २००७ सालको राजनीतिक परिवर्तन पछि जिर्णोद्धार भएको थियो भने २०६३ सालको एक हजार किलोमिटर भन्दा बढी लम्वाई भएको हुलाकी सडकको पुर्ननिर्माणले गति प्राप्त गरेको हो । पुर्ननिर्माणको १७ बर्ष पुरा भई सक्दा समेत निर्माणले पूर्णता पाउन नसक्दा शान्ति समाजले अभियान शुरु गरेको हो । अभियानमा शान्ति समाजले ५ वटा बुँदालाई अघि सारेको छ ।
जसमा हुलाकी सडकमार्गले शिघ्र पूर्णता पाउनुपर्छ, मेचीदेखि महाकाली सम्म हुलाकी सडकसँग महेन्द्रराजमार्ग जोड्ने लिंकरोडले पुर्णता पाउनुपर्छ, हुलाकी सडकले छोएका क्षेत्रहरुमा वातावरण र कृषीमैत्री नीति अवलम्वन गरी अन्तराष्ट्रिय स्तरको बस्ती विकासको आधुनिक मापदण्ड कायम गर्नुपर्छ । साथै कृषि संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ, मेचीदेखि महाकालीसम्म हुलाकी सडकखण्डमा सुचना प्रबिधिको विकास र बिस्तारको साथै सुचना प्रबिधिको हवका रुपमा अत्याधुनिक शहरहरु स्थापना गर्नुपर्छ र सो क्षेत्रमा उद्यम र उद्योगमैत्री नीति अवलम्वन गर्नुपर्छ । वातावरण संरक्षण सदैव प्राथमिकता हुनुपर्छ रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *