राप्ती उपत्यका ,चैत्र १५
लुम्बिनी प्रदेश योजना आयोगले प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदामाथि विभिन्न क्षेत्रबाट सुझाव लिएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगको आयोजना तथा संवाद समूह लुम्बिनी प्रदेशको सहजीकरणमा बुधबार आयोजना गरिएको थियो ।
उक्त नीति सम्वादमा सहभागि प्राध्यापक,ईन्जीनियर,पूर्व कर्मचारी,अर्थशास्त्रका जानकार,नागरिक समाज,पत्रकार,अधिकारकर्मी लगायतले प्रदेशको दोस्रो आवधिक योजनाले मानव केन्द्रित विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले भौतिक पूर्वाधार विकासलाई मात्र नहेरेर शिक्षा, स्वास्थ्य, रोजगारलगायतका मौलिक हकको प्रत्याभूति गराउनेगरी योजनाको प्राथमिकीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
प्रदेशमा उच्च रहेको बाल तथा मातृ मृत्यु घटाउने, घट्दै गएको लैङ्गिक अनुपातको अध्ययन तथा रोकथाम, सबैभन्दा धेरै युवा वैदेशिक रोजगारमा जाने प्रदेश लुम्बिनी रहेकोमा त्यसलाई घटाउँदै लैजान युवा रोजगार बढाउने योजना बनाउन नागरिकहरुको सुझाव थियो । त्यस्तै प्रदेशमा कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यकता पर्छ सोही अनुसार जनशक्ति उत्पादनको योजना बनाउने, सम्बन्धित क्षेत्रको तथ्यांकको आधारमा योजना बनाउने, योजना आयोगको आवधिक योजनाको आधारमा प्रदेश सरकारको वार्षिक योजना तथा कार्यक्रम बन्नुपर्ने, सरकारको कार्यक्षमता अभिवृद्धि गर्न तथा योजना कार्यान्वयनमा देखिएका कार्यविधिगत त्रुटि सच्याउन आयोगले सरकारलाई सुझाव दिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै प्रदेशको योजना निर्माणमा नागरिकको सुझाव लिन सम्वाद आयोजना गरेको जानकारी दिनुभयो । प्रदेशको स्थानीय तहसँग राम्रोसँग लिंक नभइसकेको र केन्द्रिकृत मानसिकता अझै नबदलिएको भन्दै उहाँले प्रदेश केन्द्र र स्थानीयको चेपुवामा परेको बताउनुभयो । नयाँ संरचना भएकोले प्रदेशको औचित्य पुष्टि गर्नेगरी योजना बनाउनुपर्ने दायित्व रहेको उहाँको भनाइ थियो । लुम्बिनी प्रदेश योजना आयोगले २०८१÷०८२ देखि २०८५÷०८६ को दोस्रो आवधिक योजनाको मस्यौदा तयार भइसकेको उपाध्यक्ष डा. केसीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य गीता केसीले प्रदेशमा ‘थिंक ट्यांक’का रुपमा रहेका शैक्षिक संस्था, सामाजिक संस्था, मानव अधिकार तथा नागरिक समाजका अगुवाहरुसँग सुझाव लिन संवादको आयोजना गरेको बताउनुभयो । सम्वादको सहजीकरण सम्वाद समूहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

