ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

सुर्खेत — चैत्र ३

छोरी जन्मिएपछि खाता खोलेर हरेक महिना ५ सय जम्मा गरिदिने प्रदेश सरकारको कार्यक्रम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६।७७ देखि छोरीहरूको सुनौलो भविष्यका लागि भन्दै ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालीकोटबाट तामझामका साथ सुरु गरेको थियो । तर, सुरुमा लोकप्रिय मानिएको यो कार्यक्रम अहिले अलपत्र परेको छ । २०७६ साउनयता जन्मिएका सबै छोरीलाई कार्यक्रममा सहभागी गराइएको छ । त्यसका लागि कर्णालीका झन्डै १७ हजार छोरीका खाता खोलिए पनि २ वर्षयता रकम जम्मा हुन सकेको छैन । प्रदेश सरकारले बालविवाह न्यूनीकरण गर्न र छोरीको सुनौलो भविष्यका लागि भन्दै यो कार्यक्रम सुरु गरेको थियो । स्थानीय तहहरूले खाता खोलेकोबारे जानकारी पठाएपछि प्रदेश सरकारले सुरुमै १ हजार रुपैयाँ बचत गरिदिने कार्यविधि बनाइएको छ । ‘२० वर्ष नपुगेसम्म खातामा सरकारले हरेक महिना ५ सयका दरले बचत गरिदिने कार्यविधि बनाएइको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । उहाका अनुसार कार्यक्रम प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा लागू छ । खातावाला छोरीले २० वर्ष नपुग्दै विवाह गरे, माध्यमिक तहको अध्ययन पूरा नगरे र बीचमै पढाइ छाडे रकम नपाउने कार्यविधि बनाइएको उहाले बताउनुभयो । कार्यक्रमका लागि अहिलेसम्म झन्डै १९ करोड रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुरुको वर्ष २०७६्।७७ मा ३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको सरकारले गत वर्ष कार्यक्रमका लागि ५ करोड ३ लाख रुपैयाँ वितरण गरेको थियो । प्रदेश सरकारले यस वर्ष कार्यक्रमका लागि झन्डै २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, चालु आर्थिक वर्षमा खोलिएको छोरीहरूको खाता संख्याबारे प्रदेश सरकारसँग अभिलेखै नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले बताउनुभयो । उहाका अनुसार स्थानीय तहले समयमै विवरण नपठाउँदा पनि कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो । ‘कार्यक्रमका लागि छुट्टै कर्मचारी नहुनु, स्थानीय तहसँग नियमित समन्वय नहुनु, अख्तियारी ढिलो जानु, छोरीहरूको समयसीमाभित्र खाता नखोलिनुलगायत कारण कार्यक्रमको प्रभावकारिता कम देखिएको हो ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *