१५ चैत, धनगढी ।
आपसी बिबादमा देखिएको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दे गएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका बिना विभागीय मन्त्री खुसीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठकले प्रदेशमा समेत अहिलेको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले थारुलाई जिम्मेवारी दिनुभएको हो । मन्त्रालयमा पुगेर थारुले पदभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री शाहले बिहीबार नै नाउपाका बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । यो सँगै मुख्यमन्त्री शाह नेतृत्वमा रहेको अल्पमतको सरकारले पूर्णता पाएको छ । शाहको सरकारमा कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्री छन् भने अन्य सबै चार जना नागरिक उन्मुक्ति पार्टीबाट छन् । आर्थिक मामिला मन्त्री नाउपाका घनश्याम चौधरी, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कृषि राज्यमन्त्रीमा इन्दिरा गिरी हुनुहुन्छ ।

