ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

धनगढी —फाल्गुन २५

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, खुशीराम डगौरा थारु र इन्दिरा गिरीलाई मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुभएको हो । तीनै जनालाई प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार राति नै शपथ गराउनुभएको छ ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता चौधरीलाई आर्थिक मामिला, डगौरा थारुलाई बिनाविभागीय मन्त्री र गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनाउनुभएको हो । नागरिक उन्मुक्तिका यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी रहेका कैलाशलाई फिर्ता बोलाएको हो ।
कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री रहेका शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि साथमा लिएर बहुमत पुर्‍याउने विश्वासका साथ नागरिक उन्मुक्ति पार्टीबाट शुक्रबार मन्त्री नियुक्त गर्नुभएको हो । ७ प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्तिका ३ जनालाई मन्त्री र १ जनालाई राज्यमन्त्री बनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । बिहीबार राति नै सरकार विस्तार गर्ने कसरत गरेका मुख्यमन्त्री शाह अन्तिम अवस्थामा आएर राप्रपाले निर्णय नदिएपछि रोकिनुभएको थियो । स्वतन्त्र सांसद ताराप्रसाद जोशीले यसअघि आफ्ना कारणले अप्ठेरो पर्ने अवस्था आएमा सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । राप्रपामा भने सरकारमा जाने या नजाने भन्नेमा एकमत छैन ।
प्रदेश सभामा कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक र स्वतन्त्र सांसद एक जना रहेका छन् । सरकारलाई बहुमत पुर्‍याउन २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *