३ फागुन
माओवादी केन्द्रको जारी विधान सम्मेलनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने चर्को दवाव परेको छ ।

मंगलबारदेखि जारी विधान अधिवेशनमा समूहगत छलफलबाट आएको निष्कर्षसहित सुझाव राख्ने क्रममा प्रतिनिधिहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने र नेतृत्व चयन प्रत्यक्ष निर्वाचन विधिबाट गर्नुपर्ने सुझाव दिएका हुन् ।
सम्मेलनमा सहभागी नेताहरूका अनुसार उपस्थित अधिवेशन प्रतिनिधिहरूमध्ये नाम परिवर्तनको पक्ष विपक्षमा आधा–आधा मत आएको छ ।
चुनाव चिह्न परिवर्तनमा बहुमत र नेतृत्व चयनको विधि प्रत्यक्ष निर्वाचन प्रणाली बनाइनुपर्छ भन्नेमा करिब शत प्रतिशत प्रतिनिधि देखिएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसले नेतृत्व तहमा लामो समयदेखि भइरहेको छलफल पार्टीको तल्लो तहसम्मै पुगेको छ भन्ने प्रमाणित गरेको छ ।’
अधिवेशनमा उपस्थित करिब १३०० प्रतिनिधिले आआफ्नो समूहमा छलफल गरेपछि बुधबार टोली नेताले निष्कर्षसहितको सुझाव पेश गरिरहेका छन् । प्रतिनिधिहरूका २० वटा समूहमध्ये बुधबार १३ वटा समूहले राखेको निष्कर्षसहितको सुझावमा अधिकांशले पार्टी पुनर्संरचनाको सुरुवात नाम, चुनाव चिह्न र नेतृत्व चयनको विधिबाट गर्नुपर्ने धारणा राखेका थिए ।

आफ्नो समूहबाट सुझाव पेश गर्ने हिमाल शर्मा, परशुराम रम्तेल, हरिराज अधिकारी, ओम शर्मा, सरल सहयात्री, युवराज चौलागाईलगायतले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

पार्टीको नाम परिवर्तन गर्दा अरु पार्टीबाट आउनेहरूलाई समेत समेट्न सजिलो हुने उनीहरुको तर्क छ । पार्टीको नामबाट माओवादी हटाएर नेकपा केन्द्र, हाम्रो कम्युनिस्ट पार्टी, नेकपा एकीकृत, समाजवादी केन्द्र, नेकपा समाजवादीजस्ता नाम उपयुक्त हुनसक्ने सुझाव समेत उहाहरुले दिनुभएको थियो ।
अहिले माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । यसको साटो सहज रुपमा भन्न सकिने र मतदातामा सकारात्मक प्रभाव पर्ने खालको रोज्नुपर्ने नेताहरुले बताउनुभयो।

पार्टीको नाम र चुनाव चिह्नसँगै सिद्धान्तलाई पनि वैज्ञानिक समाजवादमा जाने गरी तय गर्नुपर्ने सुझाव अधिवेशन हलमा प्रतिनिधिबाट आएको छ । साथै, कमिटीको नेतृत्व चयनमा मात्रै नभएर महाविधेशन प्रतिनिधि र विभिन्न तहका चुनावमा जनप्रतिनिधिका लागि उम्मेदवार पनि पार्टी सदस्यले नै छनौट गर्न पाउनु पर्ने सुझाव माओवादी केन्द्रमा आएको छ ।

एमालेसँग एकता गरेर नेकपा नामाकरण गरे पनि करिव ३ वर्ष माओवादी नाम छाडेर काम गरेको बैठकमा स्मरण गराईएको थियो ।
माओवादी नेता परशुराम रम्तेल चुनाव चिह्नको बारेमा जनतालाई बुझाउनै गाह्रो हुने अवस्था भएको बताउँनुभयो। ‘अन्य पार्टीका चुनाव चिह्न सजिलै भन्न सकिने छन्, प्रष्ट बुझिन्छन्’, ‘तर, हाम्रो चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा भन्नुपर्छ । यसले मतदाता पनि अल्मलिन्छन् ।’
कतिपयले भने पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्तावको विरोध गरेका छन् । उनीहरूले स्थापित भइसकेको नाम र चुनाव चिह्नलाई चलाउन नहुने तर्का गरेका छन् ।
शान्ति प्रक्रियापछि सम्पन्न पहिलो संविधानसभा चुनावयता निरन्तर ओरालो लाग्दै गएको जनमतलाई आकर्षण गर्न माओवादीमा नाम परिर्वतनको बहस भएको पहिलो पटक होइन । तर यो पटक विधान सम्मेलनमा नाम र चुनाव चिह्नको बहसले उलेख्य प्राथमिकता पाएको नेताहरु बताउँछन् ।
पार्टी जीवनमा पहिलोपटक विधान अधिवेशन गरिरहेको माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले पेश गरेको मस्यौदामाथि नाम र चुनाव चिह्न परिर्वतनबारे केही बोलिएको छैन । त्यसमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले फरक मत राख्नुभए भएको थियो । शर्मा चाहिँ नाम परिर्वतनको पक्षमा हुनुहुन्छ।
शर्माले राखेको संक्षिप्त ९ बुँदे पुरक प्रस्तावबारे पार्टीको स्थायी समिति र पदाधिकारीमा व्यापक छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन उदघाटनका क्रममा पनि शर्माको फरक मत रहेको जानकारी गराएका थिए । समूहगत छलफलमा त्यसले निकै स्थान पाएको छ ।
कतिपयले भने पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्तावको विरोध गरेका छन् । उनीहरूले स्थापित भइसकेको नाम र चुनाव चिह्नलाई चलाउन नहुने तर्का गरेका छन् । यस्तो धारणा राख्ने अधिकांश माओवादी जनयुद्धका प्रभाव क्षेत्रका रूपाम परिचित क्षेत्रका प्रतिनिधिहरू छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *