साउन ८ गते
शिक्षा क्षेत्रमा ब्यापक सुधारको माग राख्दै भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन तोड्नु भएको छ । केन्द्रीय मन्त्री जे.पी.नड्डा र डा. जितेन्द्र सिंहको उपस्थितिमा सहमतिपश्चात वाङचुकले अनशन अन्त्य गराउनुभएको हो ।
नीट–यूजी प्रश्नपत्र चुहावटको विरोधमा विद्यार्थीहरूले नयाँ दिल्लीमा जारी राखेको आन्दोलनमा उहाले ऐक्यबद्धता जनाउनुभएको थियो ।
उहाले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिनुभएको छ । उहाका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो ।
यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
उहाले एक्समा लेख्नुभएको छ, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’
मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् । यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बस्नुभएको थियो ।
पेपर लिकविरुद्ध कडा सजायको कानुन ल्याउने मोदीको घोषणा
यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिक (प्रश्नपत्र चुहावट) विरुद्ध कडा सजायको व्यवस्था गर्ने कानुन ल्याइने घोषणा गर्नुभएको छ । यससम्बन्धी कानुनको मस्यौदामाथि आज मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा छलफल हुने र कडा निर्णय लिइने उहाले बताउनुभएको छ । मन्त्रिपरिषद्को स्वीकृतिपछि उक्त विधेयक अर्को साता संसदमा पेश गरिनेछ । साथै, यसलाई छिट्टै पारित गराउने प्रयास पनि गरिने उहाले जनाउनुभएको छ ।
पेपर लिक प्रकरणको विरोधमा ककरोच जनता पार्टीले विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएको छ । ककरोच जनता पार्टीले आज पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आह्वान गरेको छ ।
प्रधानमन्त्री मोदीले राति ११.५२ बजे आफ्नो सामाजिक सञ्जाल एक्समा २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गरेका थिए ।
उक्त भिडियोमा मोदीले भन्नुभएको छ– ‘पेपर लिक कुनै सामान्य विषय होइन । यसले लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकलाई पीडा दिएको छ । त्यसैले पछिल्ला साढे दुई महिनामा हामीले पेपर लिक रोक्न धेरै कदम चालेका छौँ । दोषीहरूलाई पक्राउ गरिएको छ र उनीहरू अहिले जेलमा छन् । विद्यार्थीहरूको एक वर्ष खेर नजाओस् भन्ने हाम्रो जिम्मेवारी थियो । त्यसैले छोटो समयमै २२ लाख विद्यार्थीको परीक्षा सञ्चालन गर्यौँ र जुलाई १९ मा नतिजा पनि सार्वजनिक गर्यौँ ।’
उहाले थप्नुभएको छ , ‘हामी यतिमै सन्तुष्ट हुनेवाला छैनौँ । त्यसैले पेपर लिकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्न निर्देशन दिएको छु । सम्बन्धित विभागहरूले गएराति ढिलो मस्यौदा पठाएका छन् । त्यसमा फास्ट ट्र्याक अदालत र कडा सजायका व्यवस्था समावेश छन् । यसबारे शुक्रबार मन्त्रिपरिषदमा छलफल हुनेछ ।’
यसअघि प्रधानमन्त्री मोदीले बिहीबार नै पेपर लिकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरिने बताएका थिए । यो सम्पूर्ण प्रकरण मे ३ मा सम्पन्न नीट–युजी मेडिकल शिक्षा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटसँग सम्बन्धित हो ।
आज शान्तिपूर्ण प्रदर्शन गर्न ककरोच जनता पार्टीको आह्वान
यही पेपर लिक प्रकरणको विरोधमा ककरोच जनता पार्टीले विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएको छ । ककरोच जनता पार्टीले आज पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आह्वान गरेको छ ।
सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनसम्म अनशन गर्नुभएको थियो भने यस विषयलाई लिएर संसदमा सांसदहरूले पनि विरोध र नाराबाजी गर्दै आएका छन् । यसबाट मोदी सरकार रक्षात्मक बनेको छ ।
पेपर लिक घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ । अनुसन्धानका क्रममा महाराष्ट्र, राजस्थान, दिल्लीलगायतका विभिन्न राज्यमा छानबिन गरिएको छ । अहिलेसम्म १३ जना आरोपी पक्राउ परिसकेका छन् । सीबीआईले चाँडै नै यस मुद्दामा आरोपपत्र (चार्जशीट) अदालतमा दर्ता गर्न सक्ने बताइएको छ ।

