तुलसीपुर, जेष्ठ १८
तुलसीपुर उपमहानगरपालिकाले दोस्रो आवधिक योजना निर्माण प्रक्रिया अगाडी बढाएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मको दोस्रो आवधिक विकास योजनाको मस्यौदा उपर आइतबार वृहत अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो । ५ समूहमा बिभाजन गरि सुझाब संकलन गरिएको उक्त मस्यौदा उपरको छलफलमा सहभागिहरुले विभिन्न रचनात्मक सुझावहरु दिएका छन् ।
शिक्षा,स्वास्थ्य,कृषि,रोजगारी,स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, रोजगारी सिर्जना, कृषि र पर्यटनको प्रवद्र्धन तथा सुशासनलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पहिलो आवधिक योजनाको समीक्षा गर्दै दोस्रो योजनालाई थप व्यवहारिक, नतिजामुखी र तुलसीपुरको दिगो विकासमा केन्द्रित बनाइने बताउनुभयो ।
उपप्रमुख स्यानी चौधरीले ५ बर्षका लागि बनाउन लागिएको दोस्रो आवधिक योजनामा महिला, बालबालिका, विपन्न, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको आर्थिक सशक्तीकरणका लागि विशेष प्याकेज र कार्यक्रमहरु समावेश गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले आवधिक योजनाले तुलसीपुर उपमहानगरपालिकालाई सफल गन्तव्यका लागि दिशानिर्देश गर्ने बताउनुभयो । वडा र विभिन्न शाखाबाट आएका योजनाले नगरको नीतिगत योजनाको आधार बन्ने बताउनुभयो ।
छलफलमा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला निकायको उपस्थिति थियो । कार्यक्रममा सहभागी बिषयगत समितिका संंयोजक,सदस्य, वडा अध्यक्ष , विज्ञ तथा विभिन्न शाखाका प्रमुख एवं नागरिक समाज पत्रकारहरु लगायतले मस्यौदामाथि सुझाब समेत दिएका थिए । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गर्नुभएको थियो ।

