पौष २५
लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले शपथ ग्रहण गर्नुभएको छ । बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष बस्यालले शपथ ग्रहण गर्नुभएको हो । यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नवनियुक्त लोक सेवा आयोगका अध्यक्ष बस्यालसमक्ष शपथ ग्रहण गर्नुभएको छ ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गर्नुभएको हो । यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य ताराप्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुनुहुन्छ ।

